मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित
फाइल तस्बिर
काठमाण्डाै, १ असाेज । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के एन्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडलमा केबलकार बनाउने भएको हो ।
इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता केही समयअघि गरेसँगै परियोजना बनाउनका लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको मुक्तिनाथका अध्यक्ष अरुण सुवेदीले बताउनुभयो । उहाँले ईपीसीएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना भएको भन्दै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उल्लेख गर्नुभयाे । समझदारीअनुसार कुल लागतको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपैयाँ के एन्ड आर इन्जिनियरिङले लगानी गर्ने अध्यक्ष सुवेदीले बताउनुभयाे ।
उहाँले मुक्तिनाथ केबलकार परियोजना बनाउनका लागि बाँकी २० प्रतिशत वित्तीय स्रोत नेपाल र बाहिरी कम्पनीहरूले ‘इक्विटी’ काे रूपमा जुटाउने बताउनुभयो । आयोजना बनाउनका लागि ९० प्रतिशत जग्गा खरिद गर्ने काम सकिएको भन्दै बाँकी १० प्रतिशत पनि लिने प्रक्रिया शुरु भइसकेको उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष सुवेदीले मुक्तिनाथ केबलकार बनिसकेपछि गिनिजबुकमा नाम रहने बताउनुभयो । आयोजना सम्पन्न भएपछि ७० अर्ब रुपैयाँसम्म देशकाे कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदान गर्ने र नाै अर्ब रुपैयाँ सरकारलाई राजस्व जाने उहाँकाे भनाइ छ ।
के एन्ड आर रेलका अध्यक्ष कुरु प्रविर कार्रलाले मुक्तिनाथ केबलकार परियोजना बनाउन चुनौती र समस्या भए पनि आफूहरू सक्षम रहेको बताउनुभयो । मुक्तिनाथ केबलकार बनेपछि त्यस क्षेत्रमा पर्यटनको ठूलो सम्भावना हुने उहाँकाे भनाइ छ ।
मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम सकिएको दुई वर्ष भइसकेको छ । यस्तै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथले केबलकारको डीपीआर तयार पारि २०७८ कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो ।
केबलकारमा ‘टप टु बटम’ १९ वटा स्टेशन हुनेछन् । यीमध्ये आठ वटा स्टेशनमा अनिवार्य ओर्लिनुपर्ने छ । पाँच वटा स्टेशनमा अत्यावश्यक भए मात्र ओर्लिन पाइने र अन्य ११ वटा स्टेशनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । कास्कीकाे वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाइ ८० दशमलव १५ किलोमिटर हुनेछ । केबलकारमा सात सय ७६ वटा गोन्डाेला राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केबलकार एक हजारदेखि तीन हजार सात सय मिटर उचाइसम्म पुग्नेछ । प्रत्येक स्टेशनमा रिसोर्ट बनाउने योजना पनि छ ।
केबलकारको पहिलो स्टेशन वीरेठाँटीमा हुनेछ । दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३ दशमलव ३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२ दशमलव ७३ किलोमिटर, चौथो तातोपानी–लेते १६ दशमलव ४४ किलोमिटर रहनेछ । पाँचौँ स्टेशन लेते–जोमसोम २३ दशमलव ९२ किलोमिटर, छैटाैँ जोमसोम–कागबेनी आठ दशमलव २४ र सातौँ स्टेशन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म नाै किलोमिटर रहने कम्पनीले जनाएको छ । याे केबलकारमा वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























