बझाङ, ३० असाेज । देशमा सङ्घीयतापछि बझाङले पहिलाे पटक जनस्वास्थ्य अधिकृत पाएको छ । लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालय बझाङमा आज मङ्गलवारदेखि जनस्वास्थ्य अधिकृत लालबहादुर धामीले पदभार ग्रहण गर्नुभएको हो ।

लामो समयदेखि कैलाली स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृतको पदमा रहेका धामीलाई आज स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिले भव्य स्वागत गरे । धामीकै कार्यकालमा सुदूरपश्चिम प्रदेशभरि रहेका स्वास्थ्य कार्यालयमध्ये कैलाली स्वास्थ्य कार्यालय पहिलो भएको थियो ।

स्वागत कार्यक्रममा जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डाक्टर नवराज जोशीले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयबीच सहकार्य हुन आवश्यक रहेकाे बताउनुभयाे । जिल्ला अस्पतालमा आफूले एउटा प्रणाली बसालेकाे र त्यसलाई आत्मसात् गरेर अघि बढ्न सके स्वास्थ्य सेवा प्रवाह गर्ने कुरामा धेरै अघि बढ्न सकिने उहाँकाे भनाइ छ ।

जनस्वास्थ्य अधिकृत धामीले आफूलाई पदभार ग्रहण गर्दा मिलेकाे साथ र सहयाेग आउँदा दिनमा पनि मिल्ने अपेक्षा राखेकाे बताउनुभयाे । स्वास्थ्य कार्यालयका साथै अस्पतालको सेवा पनि प्रभावकारी बनाउन आफू लागिपर्ने उहाँकाे भनाइ छ