उपाध्यक्ष उम्मेदवार अधिकारी भन्छन् : नयाँ युवाको सहभागिता बढाइन्छ
काठमाडौं : वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई तालिम केन्द्र सञ्चालन गरिने एनआरएनएको आइसीसी युवा संयोजक रविन अधिकारीले बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रम सम्बन्धित देशका एनआरएनए एनसीसीहरूसँग समन्वय गरी दक्षता हासिल गरेको क्षेत्रमा रोजगारका लागी पहल गर्ने उनले बताए।
‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको वृहत् सहभागिता’ भन्ने मुल भावनालाई समेटेर अगाडि बढ्ने उनको भनाइ छ।
संघमा युवा र नयाँ पुस्तालाई व्यापक सहभागिता बढाउने विशेष योजना ल्याइ कार्यान्वयन गराउने प्रतिबद्धता जनाए।
प्रवासमा रहेका युवाहरूलाई खेलकुदहरूको माध्यमबाट जोड्न एनआरएन युवा खेलकुद कोष स्थापना गर्ने उनले जानकारी दिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीहरूलाइ प्रोत्साहित गर्दै सहयोग पुर्याउने योजना ल्याइ कार्यान्वयन गराउन पहल गर्ने उनले बताए।
‘विदेश आएका कतिपय नेपाली युवाहरू आज विभिन्न खालको कुलत र समस्या पनि फसिरहेका छन्’, उनले भने, ’ उनीहरूलाई खेल लगायत विभिन्न सांस्कृतिक मनोरञ्जन कार्यक्रमबाट सकारात्मक सोच वृद्धि गराउनु र सही मार्गमा हिडाउनु आज हामी सबैको लागि चुनौती र दायित्व पनि हो। यसमा मेरो जोडदार प्रयास रहनेछ।‘
आइसीसी र एनसिसी बीचका युवाहरूलाई संयोजन गरी आपसी सहयोग अभिवृद्धि गर्ने अधिकारीले बताए। विभिन्न समस्या समाधानका लागि आइसिसीको तर्फबाट एनसिसीका युवा संयोजकहरूलाई समेटी एक संयन्त्र गठन गर्न प्रयत्न गर्ने उनले उल्लेख गरे।
एनसिसीका युवाहरूको भावनालाई आइसीसीसम्म पुर्याउन प्रयत्न गर्ने उद्घोष गरे। ‘विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्ताका युवा वर्गलाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसँग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्नेछु’, अधिकारी भन्छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























