काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताएका छन्।

सोमबारबाट सुरू भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताएका हुन्।

उनले राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरू पनि परेको बताए। उनले यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरूप्रति कहिले कहीँ विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उनीहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना नरहेको बताए। उनले परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय आफूहरूको नरहेको पनि बताए।

सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको उल्लेख गरे। उनले पुराना राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायम रहेको बताए। उनले देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताए।