काठमाडौं : यस वर्षको मनसुन आज (आइतबार)देखि बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज विज्ञप्ति जारी गर्दै मनसुन बाहिरिएको जानकारी दिएको हो।

महाशाखाले नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको मनसुन आज मिति २०८० असोज २८ गते (तदनुसार १५ अक्टोबर २०२३) का दिन नेपालबाट बाहिरिएको छ।’

जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ। यद्यपि फेरि पश्चिमी न्यूनचापीय प्रणालीको कारणले भोलि सोमबारदेखि नेपालको सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।