काठमाडौं : कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय शुक्रबार अपराह्न सकिँदैछ।

प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मका लागि समय दिएका थिए। बिहीबार दुईजनाको दाबी परेको छ।

माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका सांसद केदार कार्की दुवै जनाले बहुमत सदस्यको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। आङ्बोले यसअघि मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता उद्धव कार्कीले पेश गरेको हस्ताक्षरकै फोटोकपी पेश गरेका छन्।

कार्की एमालेले ३९ सांसद र कांग्रेसका ८ सांसदको नयाँ हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

दुवै जनाले बहुमत सदस्यको हस्ताक्षर पेश गरेपछि प्रदेश प्रमुख खापुङले आज कानूनी परामर्श गरेर निर्णय लिने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।