घनश्याम भर
विजयनगर, २४ असोज ।

लुम्बिनी प्रदेशका सांसद अर्जुन कुमार केसीले समृद्ध शिवगढी बनाउन बाह्य पर्यटक भित्र्याउन आवश्यक रहेको बताएका छन् । उनले ऐतिहासिक किल्ला शिवगढीको पहिचान कायम गर्नुपर्ने बताउँदै समृद्ध शिवगढीका लागि आन्तरिक पर्यटकको साथै बाह्य पर्यटक भित्र्याउन सके शिवगढीको मुहार फेरिने बताए ।

जिल्लाको शिवराज नगरपालिका–९ बानियाँभारमा गोल्डेन स्टार युवा क्लबले आयोजना गरेको १५ औँ शिवगढी कप प्रतियोगिता कार्यक्रममा सांसद केसीले यस्तो बताएका हुन् । उनले भने ; “बाटो, पुल बनेका छन् । स्रोत साधन छ । मानिसलाई पुग्न एकदम सजिलो भएको छ । पर्यटक बृद्धिमा हामीले लाग्नुपर्छ । बाह्य पर्यटक भित्र्याउन सके समृद्ध शिवगढी बन्न धेरै समय लाग्दैन” । सरकारले ऐतिहासिक, धार्मिक स्थलहरुको संरक्षण र विकास निर्माणमा केही पनि गर्न नसकेको बताउँदै ती स्थलहरु दयनीय अवस्थामा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

उनले शिवगढी मन्दिरमा शिव भगवानको पूजापाठ गर्न भारतबाट हजारौँ पर्यटक तथा श्रदालुहरु आउने गरेको हुँदा यसको प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए । पर्यटकलाई सुरक्षित महसुस गराउन सके शिवगढीलाई आर्थिक रुपमा बलियो हुनुको साथै समृद्ध शिवगढी बनाउन सकिने उनको भनाई छ । सांसद केसीले मुलुक प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच नभएको जिकिर गरे । यसको प्रचार–प्रसारको कमीले सोचे अनुसार पर्यटकहरूको संख्यामा बृद्धि र पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था रहेको उनले बताए ।

यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शिवगढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सबैले लाग्नुपर्ने बताए । पर्यटकीय क्षेत्रको रुपमा चिनिदैँ गएपछि व्यापार, व्यवसायको साथै स्थानीयलाई आर्थिक आयआर्जनमा टेवा पुग्दै जाने उनले बताए । पर्यटन क्षेत्रको रुपमा प्रचुर सम्भावना बोकेको स्थल भएको हुँदा हजारौँको संख्यामा पर्यटक भित्र्याउन सकिने बताउँदै संरक्षण र प्रवर्द्धनमा लाग्नुपर्नेमा अध्यक्ष थापाले जोड दिए ।

गोल्डेन स्टार युवा क्लबका सल्लाहकार संयोजक बिक्रम केसीले शिवगढीको विकास र समृद्धिका लागि ‘शिवगढी कप’ पुरुष र महिला फुटबल खेल प्रतियोगिता आयोजना गर्दै आएको बताए । खेलको माध्यमबाट शिवगढीको पहिचान कायम गर्न फुटबल प्रतियोगिताले टेवा पुग्ने भन्दै १५ वर्षदेखि क्लबले निरन्तर खेलको आयोजना गर्दै आएको उनले बताए ।

कार्यक्रममा वडा अध्यक्ष राम गोपाल चौधरी, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, उद्योग वाणिज्य संघ चन्द्रौटा अध्यक्ष ईश्वरी पाण्डे, समाजसेवी युवा नेता राशिद मिर्जा वेग लगायतले सम्बोधन गरेका थिए ।

गोल्डेन स्टार युवा क्लब बानियाँभारले सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण मुलुकमा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी नेपालमा मानिसको आगमन बृद्धि गराउन विश्वास लिएको छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवर्धन गर्दै स्थानीय बासिन्दाको चाहना र आवश्यकतालाई ध्यानमा राखी पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्धनमा क्लबले जोड दिएको छ ।