कमल बिष्ट

कपिलवस्तु, २४ असाेज ।

कपिलवस्तुको शिवराज नगरपालिका-९, बानियाभारमा गोल्डेन स्टार युवा क्लब द्वारा आयोजना गरिएको शिवगढी कप आज बाट शुरु भएको छ । प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले फुल रहेको गमलामा पानी राखेर शुभारम्भ गरेका हुन् ।

कार्तिक ५ गते सम्म संचालन हुने प्रतियोगितामा पुरुष फुटबल प्रतियोगिता तर्फ २२ टिम र महिला तर्फ ९ टिमका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने  उद्घाटन खेलमा सूर्यमुखी युवा क्लब बिजगौरी, शस्त्र प्रहरी बल ५ नम्बर बाहीनी चन्द्रौटा  बिचको खेल निर्धारित समयमा १-१ को बराबरीमा रोकिएपछि टाइब्रेकरमा २ का विरुद्ध ४ गोलको जित निकाल्दै सूर्यमुखी युवा क्लब अघिल्लो चरण प्रवेश गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले खेल क्षेत्र र शिवगढी क्षेत्रलाई जोडेर पर्यटन विकास गर्न सके यस क्षेत्रको विकासमा टेवा पुग्ने जनाए । पहिलेको तुलनामा पदयात्रा मार्फत शिवगढी मन्दिर दर्शन गर्नजाने श्रद्धालु भक्तजनमा कमी आएको महसुस भएको बताउँदै मित्र राष्ट्र भारतबाट धार्मिक पर्यटक भित्र्याउन योजना बनाउनुपर्ने बताउँदै शिवगढी किल्ला/ मन्दिर र सोनवागढ मन्दिरको ऎतिहासिकताबारे अनुसन्धान गर्न पुरातत्त्वविदलाई ल्याउने योजना बनिसकेको सदस्य केसीले बताए ।

त्यस्तै विशिष्ट अतिथि शिवराज नगरपालिकाका प्रमुख अजय थापाले नगरले खेल क्षेत्रको विकासमा आवश्यक परे ५० लाख पनि छुट्ट्याउन तयार रहेको बताउँदै उत्कृष्ट खेल योजना बनाउन छिट्टै छलफल गरिने बताए ।

त्यस्तै अर्का विशिष्ट अतिथि विजयनगर गाउँपालिका प्रमुख गोपालबहादुर थापाले खेल क्षेत्रको विकासमा सबै क्षेत्र पालिकाका खेलाडी क्लबहरू सङ्ग हातेमालो गर्न तयार रहेको बताउदै कृषि, पर्यटन र खेल क्षेत्र महत्त्वपूर्ण क्षेत्र रहेको बताउदै विश्वजगतमा देशको गरिमा उचो बनाउन खेल नै उपयुक्त माध्यम बन्न सक्ने धारणा राखेका थिए । विजय नगर गाउँपालिकाले खेलको प्रायोजकको रुपमा समेत रहेको छ ।

कार्यक्रममा शिवरज-९, का वडा अध्यक्ष रामगोपाल चौधरी, चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महादेव पोख्रेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डे, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा युवा राजनितिज्ञ राशिद मिर्जा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शिवगढी कपको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रम क्लबका अध्यक्ष ईश्वर गिरीको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, क्लबका सल्लाहकार संयोजक बिक्रम केसीको विषय प्रकाश, क्लबका सचिब अबिनास रोकाको स्वागत र राजेन्द्र बोहराको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा पुरुष फुटबल प्रतियोगिता तर्फ बिजेताले ५३ हजार १ सय, ट्रफि , मेडल र  प्रमाणपत्र प्राप्त गर्नेछ भने महिला फुटबल प्रतियोगिता तर्फ विजेताले २५ हजार १ सय नगद साथमा आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने पुरुष फुटबल तर्फ सेमिफाइनल बाट बाहिरिने दुई टिम लाई ६ हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने र बेस्ट प्लेयर, बेस्ट गोलकिपर, हाइस्कोरर र बेस्ट रेफ्री लाई सम्मानित गर्ने आयोजकले जनाएको छ ।