बालिकाहरूको संरक्षण र संवर्द्धनमा थप लगानी बढाउनु आवश्यक : मन्त्री आचार्य
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरूको संरक्षण र संवद्र्धनमा राज्यले थप लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बालिकाविरुद्धको हिंसा र बालयौन दुर्व्यवहार विरुद्धको घटना यदाकदा अझै भइरहेको बताए।
उनले समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन रहेको भन्दै कानुनी व्यवस्था भए पनि कानुनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिंग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरू पनि अझै देखिने गरेको बताए।
उनले बालविवाह, बालश्रम लगायतमा पनि बालिकाहरू नै बढी पर्ने गरेको भन्दै यसको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि गर्न जरुरी रहेको बताए।
उनले भने, ‘बालिकाविरुद्धको हिंसा र बालयौन दुर्व्यवहार विरुद्धको घटना यदाकदा अझै भइरहेका छन्। हाम्रो समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन छ। कानुनी व्यवस्था भए पनि कानुनको प्रभावकारी कार्यान्वयनको अभाव र बालअधिकार सचेतना र ज्ञानको अभावले लिंग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरू सुन्नमा आउँछन्।
बाल विवाहमा पनि बालिकाहरुको संख्या बढी नै भएका तथ्यांकहरू छन्। बालश्रममा पनि बालिकाहरु छन्। हराउने, बेचबिखन तथा ओसारपसारमा पर्ने पनि बालिकाहरू नै बढी देखिएकाले यसको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि समेतका लागि राज्यले लगानीको निरन्तरता र थप आवश्यक लगानी बढाउन मन्त्रालयका तर्फबाटथप सहयोग र सहजीकरण गरिनेछ।
बालिकाहरुको अधिकार संरक्षण तथा संवद्र्धन र सर्वोत्तम हीतका लागि बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी लगायतका सन्धि सम्झौता र दस्ताबेज नेपालको संविधान, बालबालिका सम्बन्धित ऐन तथा नीति नियमहरू आवधिक र वार्षिक योजनाका कार्यक्रमहरू कार्यान्वयन गर्न तीन तहकै सरकारी निकाय, विकास साझेदार र गैरसकारी संस्थाहरुलाई आह्वान गर्दै मन्त्रालय यस कार्यमा लागिरहेको छ।’
बालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय बालिका दिवस-२०२३ मनाइएको छ। बालिकाहरुको अधिकार संरक्षण र संवर्द्धन, सम्मानमा सबैले चासो दिन र गम्भीर हुन आग्रह गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























