कर्मचारी आन्दोलनका कारण शिवराज नगरपालिकामा कामकाज प्रभावित
कपिलवस्तु, २४ असाेज ।
स्थानीय तहका कर्मचारीहररूको आन्दोलनका कारण शिवराज नगरपालिकामा जनताका काम प्रभावित भएको छ । काम ठप्प पारेर कर्मचारी आन्दोलनमा उत्रिएपछि नगरपालिकाबाट आवश्यक सेवा सुविधा पाउनबाट स्थानीय बञ्चित भएका छन् ।
एक हप्तादेखि कर्मचारीहरुले विभिन्न माग राखी नगरपालिकाको कामकाज ठप्प पारेका छन् । त्यसले गर्दा विभिन्न काम लिएर नगरपालिका पुग्ने सेवाग्राही त्यत्तिकै फर्कन बाध्य छन् ।
कर्मचारी भने आफ्नो माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने बताउँदै पेन डाउन गरी धर्नामा बसेका छन् ।
उनीहरूले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने, प्रशासकीय अधिकृतको पद स्थानीय सेवानै रहनु पर्ने, निजामतीको परिभाषामा स्थानीय कर्मचारीलाई समेटिनु पर्ने, चक्रीय प्रणालीमा सरुवा गरिनु पर्ने, समायोजनका कर्मचारीहरु सर्वोच्च अदालतको निर्देशन आदेश पालन गरी उचित व्यवस्थापन गरिनु पर्ने, तीनै तहका कर्मचारी हरुको समान वृत्ति विकासको व्यवस्था गरिनु पर्ने लगायत माग अघि सारेका छन् ।
यस्तै, स्थानीय कर्मचारीहरुको कर्मचारी कल्याण कोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, स्थानीय सेवाका कर्मचारी हरुलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनु पर्ने, जुनसुकै तहमा बहाल गरेको कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई ट्रेड युनियन अधिकार प्रदान गरिनु पर्ने, अस्थायी करार कर्मचारी हरुको उचित व्यवस्था गरिनु पर्ने जस्ता माग कर्मचारीले अगाडि सारेका छन् ।
एक हप्ताअघिदेखि स्थानीय तहका कर्मचारी आन्दोलनमा हुँदा जनतालाई सास्ती भएको छ । कर्मचारीहरुको माग छिटो सम्बोधन गरेर जनतालाई सेवा दिनुपर्ने सेवाग्राहीको आग्रह छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























