काठमाडौं : लोक सेवा आयोगले आज प्रकाशित हुनुपर्ने विज्ञापन रोकेको छ।  सरकारले गरेको माग अनुसार प्रकाशित गर्नुपर्ने विज्ञापन आयोगले कारण नै नखुलाई रोकेको सूचना प्रकाशन गरेको हो।

‘आयोगको वार्षिक कार्य तालिका २०८०/०८१ अनुसार मिति २०८०/६/२४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको ब्यहोरा आयोगको मिति २०८०/६/२३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर विशेष कारण के हो त्यो भने खुलाएको छैन।

लोकसेवाको कार्यतालिका अनुसार आज सहसचिव र उपसचिवको विज्ञापन खुल्नु पर्ने हो। ​असोजको अन्तिम बुधबार सहसचिव र उपसचिवको विज्ञापन खुल्ने कार्यतालिका थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवाका रिक्त सहसचिव र उपसचिवको माग मंगलबार नै आयोगमा पठाएको थियो।

कारण नै नखुलाई विज्ञापन रोक्ने आयोगको निर्णयले परीक्षार्थीहरूलाई निराश बनाएको छ।