काठमाडौँ : फुटबल वर्ल्डकप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तीव्र पारेको छ।

असोज २५ गते दशरथ रंगशालामा हुने लाओससँगको खेलका लागि तयारी तीव्र पारेको हो। फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन्।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले हाल २५ सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेका छन्। प्रशिक्षकले मंगलवार अभ्यासका क्रममा तयारी राम्रो रहेको बताए। उनले लाओससँग खेल्नका लागि आफूहरू सबै किसिमले तयार रहेको बताए।

त्यस्तै खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले राम्रोसँग खेल्नुपर्ने बताए। उनले तयारी राम्रो भएको र नयाँ खेलाडीहरू भएकाले जोश जाँगर रहेको बताए। नयाँ खेलाडीलाई आफूहरूको अनुभव सिकाउने बताए।

उनले लाओससँगको म्याचमा फोकस र एक वर्ष व्यस्त हुने भएकाले लाओससँग जित्ने गरी खेल्ने बताए।

नेपाल र लाओसबीचको खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ तीन सय र भिआइपी पाराफिटतर्फ पाँच सय कायम गरिएको छ। खेलको टिकट एन्फा आफैँले बिक्री गर्नेछ। प्रतियोगिताका लागि ७३ लाख ६८ हजार ४ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।