काठमाडौँ : संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरेसको नेपाल भ्रमण स्थगित भएको छ।

पश्चिम एशियामा विकसित तनावका कारण गुतेरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले बताइन्।

‘उहाँको नेपाल भ्रमण हाललाई स्थगित भएको छ। छिटै भ्रमण हुनेछ’‚ लम्सालले थाहाखबरलाई भनिन्।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुतेरेस असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल आउने तय भएको थियो। गुतेरेसले असोज २७ गते संसद्‌को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।

इजरायलमा हमास लडाकुले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण उनको नेपाल भ्रमण स्थगित गरेका हुन्।