इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न कांग्रेसको आग्रह
काठमाडौँ : नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ।
मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा रहेका नेपालीलाई सुरक्षितरूपमा स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहने नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्वदेश फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको बताए।
हमास आक्रमणमा बेपत्ता नेपाली नागरिकको खोजी गरी स्थिति सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।
बैठकले इजरायलमा जोखिममा परेका मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राख्न तथा खान, बस्नका लागि उचित व्यवस्था गर्न र हत्या भएका विद्यार्थीहरूको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याएर परिवारजनलाई बुझाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
बैठकले हत्या भएका नागरिकहरूप्रति श्रद्धाञ्जलि दिँदै र परिवारजनमा समवेदना व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























