काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गरेका छन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउँदै उनले राजनीतिक तहमा आधिकारिक निर्णयभन्दा बाहेक व्यक्तिगत वा पार्टीगत भ्रमण नगर्न आग्रह गरेका हुन्।

मन्त्री साउदले १० जना नेपालीहरूको ज्यान जानेगरी इजरायलमा भएका सो दु:खद् घटनाको संवेदनशीलतालाई राजनीतिक फाइदा वा बेफाइदाको रुपमा प्रयोग गर्ने काम कुनै पनि तहबाट नहुने विश्वास समेत व्यक्त गरे।

इजरायलमा रहेका नेपालीहरूको समस्यालाई सम्बोधन गर्न सरकार पूर्ण रुपमा प्रतिवद्ध र गम्भीर भएर लागेको उल्लेख गर्दै उनले सो काममा संसदीय समिति र त्यसमा रहेका सांसदहरुको पनि सकारात्मक सहयोगको अपेक्षा आफूले गरेको बताए।

मन्त्री साउदले सो घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरलाई समेत ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरू सञ्चारमाध्याम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भुमिका निर्वाह गर्न सबैलाई आह्वान गरे।

‘परराष्ट्र मन्त्रालयले इजरायल सरकार र नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरी निधन भएका नेपालीहरूको शव नेपाल ल्याउन, जोखिम क्षेत्रमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नेपाल फर्कन चाहने विद्यार्थी र अन्य नेपालीहरूलाई नेपाल ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ।’ उनले भने‚ ‘नेपालको हवाई जहाज तयार अवस्थामा राख्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई अनुरोध गरिसकिएको छ। परराष्ट्र मन्त्रालय नेपाल सरकारका यी निर्णयहरू कार्यान्वयन गरी इजरायलमा रहेका नेपालीहरूको समस्यालाई सम्बोधन गर्न पूर्ण रुपमा प्रतिवद्ध र गम्भीर भएर लागेको छ।’

मन्त्री साउदले सो द्वन्द्वको चपेटामा परेका सबै नेपालीहरूको उद्धार गरिएको पनि समितिलाई जानकारी गराए। उनले इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको र त्यस काममा नेपाली राजदूतावासहरूलाई सक्रिय रुपमा परिचालन गरिएको पनि बताए ।

मन्त्री साउदले भने, ‘यी मध्ये १० जनाको हमासको आक्रमणबाट दुखद् निधन भएको छ। २ जना सकुशल रहेका छन्। ४ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । र, १ जनासँग अहिले पनि सम्पर्क स्थापित हुन सकेको छैन । इजरायलको दक्षिण क्षेत्रको तुलनात्मक रुपमा जोखिमयुक्त क्षेत्रमा बंकर भित्र आश्रय लिइराखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई हिजो इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको । साथै उत्तरी क्षेत्रमा रहेका, फार्म हाउसमा रहेका केही नेपालीहरूलाई पनि सुरक्षित तवरले बंकरमा रहने व्यवस्था मिलाइएको छ। अन्य जोखिममा रहेका नेपालीहरुलाई पनि सुरक्षित स्थानमा राख्नका लागि निरन्तर पहल गरिएको छ । इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न, नेपालीहरूलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको छ। साथै यी कार्यहरू गर्नका लागि नेपाली राजदूतावासहरुलाई सक्रिय रुपमा परिचालन गरिएको छ ।’