कृषि विश्वविद्यालयले भन्यो– इजरायलमा हाम्रा विद्यार्थी सुरक्षित छन्
काठमाडौं : चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले इजरायलमा रहेका आफ्ना ११९ विद्यार्थी सकुशल रहेको जानकारी दिएको छ ।
विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा. शारदा थपलियाले प्रेस विज्ञप्ति जारी गरी त्यहाँ रहेका आफ्ना विद्यार्थी सकुशल रहेको जानकारी दिएकी हुन्।
‘कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा ११९ जना विद्यार्थी सकुशल रहेका छन्’विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयबाट २०२३ मा इजरायल गएका ११३ जना र २०२२ मा गएका ६ जना गरी ११९ जना विद्यार्थी सकुशल हुनुहुन्छ।’
ती विद्यार्थीको स्थानान्तरणको प्रयास भइरहेको उनले बताएकी छिन्। विभिन्न सरोकारवाला निकायहरूलाई अनुरोध गरेर सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको विज्ञप्तिमा जनाइएको छ। 
‘हालसम्म हामीलाई प्राप्त सूचना अनुसार विश्वविद्यालयका विद्यार्थीहरू इजरायलमा सकुशल रहेको जानकारी मिलेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस अप्ठ्यारो अवस्थामा विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपालस्थित इजरायलको राजदूतावास एवं इजरायल स्थित नेपाली राजदूतावासलाई जानकारी दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सहयोगको लागि अनुरोध गरिराखेका छौँ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























