मानेभञ्ज्याङ (भारत) : सातौँ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा चाँद एफसी तीनधारिया र बिएसके जलपाइगुडी सेमीफाइनल प्रवेश गरेका छन्।

प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा चाँदले जर्जियन एफसी कालेम्पोङ र दोश्रो क्वार्टरफाइनलमा जलपाइगुडीले दलसिङपाडा स्पोर्टस एकाडेमीलाई हराएको हो।

पहिलो खेलमा चाँदले ४–२ गोल अन्तरले अन्तिम ४ मा स्थान बनाएको छ। प्रतियोगितामा सुरुवाती अग्रता जर्जियनले बनाएको थियो। कुन्जमान थापाले तेश्रो मिनेटमा नै गोल गरेका थिए।

२३ औँ मिनेटमा सिद्धान्त क्षेत्रीले खेल बराबरीमा ल्याए। खेलको ४८ औ मिनेटमा कुन्जमानले व्यक्तिगत दोश्रो गोल गर्दै जर्जियनलाई अग्रता दिलाए। विरेन प्रधानले ५५ र भाइचुङ राईले ६५ औ मिनेटमा गोल गरेपछि ४–२ गोल अन्तरको जितका साथ चाँदले सेमीफाइनलमा स्थान बनाउन सफल रह्यो।

त्यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा दलसिङपाडा स्पोर्टस एकाडेमीलाई सडनडेथमा हराउँदै बिएसकेले अन्तिम ४ मा स्थान बनाएको हो।

निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो। टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा धकेलिएको खेलमा जलपाइगुडीले जित निकालेको हो। मेसुके ओलमाउले १५ औँ मिनेटमा गोल गर्दै जलपाइगुडीलाई सुरुवाती अग्रता दिलाएका थिए।

३०औँ मिनेटमा मेसुकेले व्यक्तिगत दोश्रो गोल गरे। कप्तान हेमराज भुजेलले ३६ र सुजल मुण्डा (पोग्वा) ले ५४ औँ मिनेटमा गोल गरेपछि दलसिंङपाडा खेलमा फर्किएको थियो। सडनडेथमा दलसिंङपाडा भाग्यमानी सावित हुन सकेन।

प्रतियोगिताको तेश्रो क्वार्टरफाइनल खेलमा सिरिजंघा स्पोर्टिङ क्लब भद्रपुरले कञ्चनजंघा एफसी सिलिगुडीको सामना गर्नेछ।

सिरिजंघाले मोहम्मडन एथ्लेटिक कोलकत्ता र कञ्चनजंघाले हिमालयन शेर्पा काठमाण्डौलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएका थिए।

प्रतियोगितामा नेपालका ५ र भारतका ११ क्लबको सहभागिता छ। प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ (५ लाख भारु) तथा उपविजेताले ४ लाख (२ लाख ५० हजार भारु) पाउने छन्। फाइनल खेल अक्टोबर १५ तारिखमा हुनेछ।