काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इजरायलबाट नेपालीको उद्धार गरी स्वदेश फिर्ता ल्याउन आग्रह गरेका छन्।

इजरायलका विभिन्न स्थानमा भएका आक्रमणमा केही नेपाली घाइते तथा केहीलाई कब्जामा लिइएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले विज्ञप्तिमार्फत घटनाको भर्त्सना गरेका छन्।

इजरायलमा बसोबास गर्दै आएका नेपालीको यकीन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा तथा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा लैजान देउवाले आग्रह गरेका छन्।

उद्धार गरी यथासम्भव स्वदेश फर्काउन सरकारले अविलम्ब कूटनीतिक पहल गर्नसमेत उनले माग गरेका छन्।

देउवाले इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तरराष्ट्रिय मानव अधिकारवादी सङ्घसंस्था, आप्रवासी सङ्गठन (आइओएम), अन्तरराष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तरराष्ट्रिय समुदायसँग पार्टीका तर्फबाट आग्रह गरेका छन्।

उनले अप्ठ्यारोमा परेका नेपालीले आवश्यक सहयोगका लागि इजरायलस्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न आह्वान गरेका छन्।