पर्सा : पर्सा जिल्लाको संखुवापर्सौनी गाँउपालिकाको वडा नं २ श्रीपुरमा ४४५ जनाको आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ।

नेपाल नेत्रज्योति संघ आरएम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको आर्थिक सहयोगमा संखुवापर्सौनी गाँउपालिकाको वडा नं २ श्रीपुरमा शनिबार एकदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर आयोजना गरिएको थियो।

मोतियाबिन्दु देखिएका सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ आरएम केडिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ।

आर्थिक अभाव र पहुँचको अभावमा कोही पनि आँखा उपचार सेवाबाट वन्चित नहुन् भन्ने उद्देश्यले नेत्रज्योति संघले विभिन्न स्वदेशी तथा दातृ निकायहरुसँगको सहकार्यमा देशैभरि वार्षिक कैयाौँ निःशुल्क आँखा शिविर संचालन गर्दै आइरहेको छ।

छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्वअन्तर्गत नेत्रज्योति संघलाई शिविर संचालन गर्न आर्थिक सहयोग गरेको हो। संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरुमार्फत नेपाली नागरिकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ।

स्थापनादेखि हालसम्म संघले आफ्ना अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ।