काठमाडौं- हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ ।

हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्क विहिन भएको इजरायल स्थित नेपाली दुतावसले जनाएको छ । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।

आक्रमणबाट घाइते नेपाली मध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनमा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउसो बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली संपर्कबिहिन भएको बताउनु भएको थियो ।

इजरायलमा रहेका मध्य सुदुर पश्चिम विश्वविद्यालयबाट गएका ४९ जना मध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेका र त्यसमध्यका १२ जना सम्पर्क विहिन भएको मन्त्री साउदले सदन समक्ष जानकारी गराउनु भएको थियो । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।