आइतबारदेखि सुपथ मूल्य पसल, केजीमा ७ देखि १० रुपैयाँ सस्तो पाइने
काठमाडौं : सरकारले तत्कालै सञ्चालनमा ल्याउन लागेको सूपथ मूल्य पसलबाट उपभोक्तालाई ७ देखि १० रुपैयाँसम्म राहत पुग्ने भएको छ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न तथा जिउँदो खसीबोका च्यांग्रामा १० रुपैयाँसम्म छुट दिने भएको हो। सरकारले हरेक वर्ष मुख्य पर्व दशैंतिहार तथा छठलाई लक्षित गरेर सुपथ मूल्य सञ्चालनमा ल्याउने गरेको छ।
उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुनसक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका संस्थानमार्फत सुपथ मूल्य पसल ३ मंसिरसम्म सञ्चालन हुनेछ। यो वर्ष काठमाडौं उपत्यकामा चार ठाउँ गरी देशभर ४८ स्थानमा आइतबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ।
चाडपर्वको समयमा उपभोक्तालाई चर्को महँगीले हुनसक्ने मारलाई मद्देनजर गर्दै अस्वाभाविक मूल्यवृद्धि रोक्न सुपथ मूल्य सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
सुपथ मूल्य पसलमा तेल, चामल, दाल, पीठो, चिउरा लगायतका खाद्यवस्तुमा प्रतिकिलो ७ रुपैयाँ र कर्णालीको सिमी, फापर, कागुनो, जिउँदो भेडाच्यांग्रा, खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।
सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, मैदा, तोरीको तेल, सूर्यमुखी तेल, भटमासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँसम्म सस्तोमा बिक्री हुनेछ।
त्यसैगरी, कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवा, जिउँदो खसी, बोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ। सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ।
यो वर्ष कम्पनीले दशैंतिहारका लागि २ हजार खसीबोका र १ हजार भेडाच्यांग्रा ल्याउने तयारी गरेको छ। गत वर्षको तुलनामा खसीबोका तथा च्यांग्रामा यो वर्ष केही मूल्य वृद्धि हुने अनुमान गरिएको छ तर खाद्यले मूल्य तोक्ने जिम्मा भने सम्बन्धित जिल्लास्थित प्राथमिक खरिद समितिलाई दिएको छ।
गत वर्ष जिउँदो खसीबोका प्रतिकिलो ६८० र भेडाच्यांग्रा १ हजार २६० रुपैयाँमा बिक्री भएको थियो।
यो वर्ष खसीबोका किन्नका लागि काठमाडौं आसपासका जिल्लामा समन्वय भइरहेको छ भने च्यांग्राका लागि रसुवा र मुस्ताङबाट ल्याउने प्रयास भइरहेको कम्पनीकी प्रवक्ता सुवेदीले जानकारी दिइन्।
सरकारले खाद्य व्यस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत उपभोक्तालाई सहुलियत दिने गरेको छ। सरकारले साल्ट ट्रेडिङलाई बिक्री हुने सहुलियत दिन एक करोड बजेट छुट्याएको छ।
खाद्य व्यवस्थाले आइतबारदेखि काठमाडौं उपत्यकाका चार स्थानसहित मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर,ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउनेछ।
यसैगरी कम्पनीले त्यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सुपथ मूल्य पसल सञ्चालन हुने बताएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























