काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजावादीहरूले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइप्रति आपत्ति जनाएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूले लोकतन्त्र विरोधी के गतिविधि गरे ? भनि प्रश्न समेत गरे। अध्यक्ष लिङदेनले पूर्वराजा शाह र राजावादीहरूले लोकतन्त्र विरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न भनि दिइएको अभिव्यक्तिप्रति आक्रोश समेत व्यक्त गरे। उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नहरूलाई जेलबाट छोड्ने लगायतका काम लोकतान्त्रिक हो भनि सरकार र सत्तारुढ दललाई प्रश्न समेत गरे।

‘केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव विथोल्न लागेका छन्। त्यसको निगरानी गर्नुपर्‍यो। राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्। उनको गतिविधिमा ध्यान दिनुपर्‍यो भनेर आग्रह गरे, अनुरोध गरे। कुन त्यस्तो गतिविधि रहेछ ? राजावादीहरूको, जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ। र, राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ। र, लोकतन्त्र विरोधी भएको छ ? म त्यसको जानकारी लिन चाहन्छु’, उनले भने, ‘त्यसको बारेमा प्रष्ट पार्न म ती वक्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु। जघन्य अपराधका आरोपीहरूलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने काम लोकतान्त्रिक हो ? म सोध्न चाहन्छु। ’

अध्यक्ष लिङदेनले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने काम लोकतन्त्रको हो भन्दै प्रश्न समेत गरे।