काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भिभिआइपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताएका छन्।

शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भिभिआइपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रिपरिषद्मा पुगेको जानकारी दिएका हुन्।

कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको बताए। उनले अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खाली नगर्ने र कमभन्दा कम आम नागरिकलाई असर पर्नेगरी भिभिआइपीको भ्रमण गर्नेकुरा कार्यविधिमा व्यवस्थापन गरिएको बताए।

उनले भने, ‘भिभिआईपी सवारीको प्रसंग उठिरहेको थियो। अहिले हामीले पछिल्लो चरणमा देखिराखेका पनि छौँ। हाम्रा भिभिआइपीहरुको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई विस्तारै मिनिमाइज गर्दै लगिएको छ। त्यसलाई विस्तारै सुधार गर्दै लगिएको छ। अहिले पछिल्लो चरणमा भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधिमा परमार्जन भएर मन्त्रिपरिषद्मा पुगेको छ। त्यसमा यो सवारी भन्ने शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको छ। अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कम भन्दा कम आम नागरिकलाई असर पर्नेगरी भिभिआईपीको भ्रमण गर्नेगरी कार्यविधिमा व्यवस्थापन गरिएको छ।’

प्रमुख जिल्ला अधिकारी बस्नेतले यातायातमा निजी क्षेत्रको मात्रै होडले गर्दा सरकारले सवारीसानधनमा नियन्त्रण गर्नसक्ने अवस्था नरहेको बताए। उनले सार्वजनिक यातायातले रिजर्बमा मानिस बोक्ने परिपाटी बन्द गरी रुटमा सवारीसाधन सञ्चालन गर्नुपर्ने बताए।