विराटनगर : नेकपा एमालेको मंगलबार सम्पन्न कोशी प्रदेश अधिवेशनमा भएको चुनावमा प्रदेश अध्यक्षमा पराजित विनोद ढकालले आफ्नो पक्षमा लाग्ने कार्यकर्ताहरुलाई नेतृत्व तहबाट डर, त्रास र धाकधम्की दिइएको आरोप लगाएका छन्।

विराटनगरस्थित एमालेको पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी ढकालले यस्तो आरोप लगाएका हुन्।

नेतृत्व तहबाटै घेराबन्दी गर्दै प्रदेशको सत्तासमेत प्रयोग गरेर आफूलाई हराइएको बताउँदै उनले निर्वाचनका क्रममा पार्टी स्थायी कमिटी सदस्य र पोलिट ब्युरो सदस्यहरुले नै खुलेआम गुटबन्दी गरेको आरोप लगाए।

पार्टीको मूल सिद्धान्त र पार्टी विधानको भावनाविपरीत केन्द्रीय नेताहरूले अमुक उम्मेदवारको पक्षमा लागेर कार्यकर्तालाई डर, त्रासमा पारेर भोट माग्ने र अर्को उम्मेदवारलाई तिरस्कार गरेको व्यवहार खुलमखुला देखिएको बताए।

‘पार्टी स्थायी कमिटी सदस्य र पोलिट ब्युरो सदस्यहरुले नै खुलेआम रुपमा अमुक उम्मेदवारको पक्षमा भोट माग्ने र अर्को उम्मेदवारलाई घेराबन्दी गर्ने काममा नियोजित रुपमा लागेका मात्र होइन, त्यो कर्ममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर प्रचारबाजी गर्नसमेत भ्याउनु भयो‚’ उनले भनेका छन्।

ढकालले नेताहरुको तहबाट भएको त्यस्तो व्यवहारले पार्टी अध्यक्ष ओलीलाई विवादमा पार्ने काम भएको पनि दावी गरेका छन्।

केन्द्रीय सदस्य, पोलिट ब्युरो सदस्य तथा स्थायी समिति सदस्यहरुलाई प्रदेश अध्यक्षको लागि भोट माग्ने अधिकार नै नभएको ढकालको भनाई छ।

आफूलाई चुनाव हराउनकै लागि प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री नियुक्तिदेखि अनेक हथकण्डा भएको आरोप उनले लगाए।

ढकाल एमाले कोशीको अधिवेशनमा घनश्याम खतिवडासँग ८२ मतअन्तरले पराजित भएका हुन्।

चुनावी परिणामलाई सहर्ष स्वीकार गर्ने बताउँदे ढकालले नवनिर्वाचित नेतृत्वलाई सहयोग रहने विश्वाससमेत दिलाए। तर अधिवेशनमा नेतृत्वको घेराबन्दी र त्रासलाई चिर्दै निर्वाचनको बेला आफूलाई सहयोग गर्ने कार्यकर्तालाई विभेदमा पारिए चुप नलाग्ने चेतावनीसमेत उनले दिएका छन्।