घनश्याम भर
कपिलवस्तु, १२ असाेज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे कार्यालय बुटवलमा कपिलवस्तुकाे पालिकाका १ सय २८ ओेटा भ्रष्टाचारका उजुरी परेका छन् । अनुसन्धान आयाेगमा आर्थिक वर्ष २०७९/०८० र २०८०/८१ काे भदाै मसान्तसम्म ती भ्रष्टाचारका उजुरी परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बुटवलले विजयनगर गाउँपालिकामा शुक्रबार आयाेजना गरेकाे भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेकाे हाे । जिल्लामा रहेका स्थानीय तहहरुसँग सम्बन्धित शिक्षा र स्थानीय तहहरुकाे उजुरीकाे तथ्यांकमा ती विवरण उल्लेख गरिएकाे पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कार्यालय बुटवलकाे तथ्यांक अनुसार कपिलवस्तु नगरपालिकाकाे ११, कृष्णनगर नगरपालिकाकाे २६, शिवराज नगरपालिकाकाे ३, बुद्धभूमी नगरपालिकाकाे ८, बाणगंगा नगरपालिकाकाे ४, महाराजगञ्ज नगरपालिकाकाे ९, मायादेवी गाउँपालिकाकाे २८, शुद्धाेधन गाउँपालिकाकाे १२, यशाेधरा गाउँपालिकाकाे १९ र विजयनगर गाउँपालिकाकाे ८ ओटा भ्रष्टाचारकाे उजुरी परेका छन् । सबै भन्दा बढी २८ मायादेवी गाउँपालिकाकाे र सबै भन्दा कम शिवराज नगरपालिकाकाे ३ ओटा भ्रष्टाचारको उजुरी परेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बुटवलकाे तथ्यांकमा देखिएकाे छ ।

तथ्यांक अनुसार यी उजुरी मध्ये २४ ओेटा मात्र फर्च्याैट भएका छन् । माथि पालिकाकाे क्रमशः २,४,१,१,१,५,२,२,२,४ ओेटा उजुरी फर्च्याैटा भएका छन् । यस्तै क्रमशः ९,२२,२ ७,३,४, २६,१०, १७, ४ गरि १ सय ४ ओेटा भ्रष्टाचारका उजुरी प्रक्रिया रहेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बुटवल कार्यालयका प्रमुख ठाकुर आचार्यले जानकारी दिए ।

विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रमले विकास निर्माण लगायत कार्यशैलीमा सहज बनाउँदै आगामी दिनमा अझै पूर्ण जिम्मेवारी निर्वाह गर्ने बताए । उनले इमान्दारिताका साथ काम गर्दै सबैकाे आवश्यकतालाई सम्बाेधन गर्नुपर्नेमा जाेड दिए । उनले सभ्य, अनुशासित र व्यवहारिक बनाए काम राम्रो हुँदै जाने जिकिर गरे । हरेक काम पारदर्शी र जवाफदेही हुनुपर्ने भन्दै सबैलाई कर्मचारीलाई सचेत भएर काम गर्न अध्यक्ष थापाले निर्देशन समेत दिए ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले अनुसन्धानका कार्यलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । उनले अनुसन्धानलाई रचनात्मक सुधार गर्नुपर्नेमा जाेड दिए । स्थानीय सरकारकाे ऐेन अनुसार चल्नुपर्ने बताउँदै राजनैतिक दलकाे द्वन्द्वका कारण बढी उजुरीहरु पर्ने गरेकाे रिजालको भनाई छ । उनले सबैले यस्ता कुराहरुमा सम्बन्धित निकायले विशेष ध्यान पुर्‍याउन अनुरोध समेत गरे ।

अन्तरक्रिया कार्यक्रममा राजनैतिक-प्रशासनिक, समाजिक- साँस्कृतिक र आर्थिक कारण विभिन्न क्षेत्रमा भ्रष्टाचार हुने गरेकाे भन्दै कानुन प्रावधान, सजाय प्रस्तुत गरिनुकाे साथै भ्रष्टाचारकाे असर बारे चर्चा गरिएको थियोे । अनुसन्धान आयाेगका शाखा अधिकृत गाेकर्णराज घिमिरेले काम गर्ने क्रममा भविष्यमा के हाे ? भनेर साेच नपुर्‍याउँदा भ्रष्टाचारकाे समस्यामा गर्ने गरेकाे बताउँदै आफ्नो हकअधिकार र कर्तव्यबोध हुनुपर्ने लगायतका विषयवस्तु अन्तरक्रियामा प्रस्तुत गरेका थिए । संस्थागत र प्रक्रिया सुधारगत सुधार गर्नुपर्नेमा जाेड दिएका छन् । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत पालिकाका सराेकारवालाहरुकाे सहभागीता थियोे ।