काठमाडौं : आगामी कात्तिक ८ गतेदेखि १० औँ चुलेण्डी गोल्डकप हुने भएको छ। श्री भीमसेन स्थान युवा क्लबको आयोजनामा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ उदयपुरको वाल्लीबरपुम खेलमैदानमा खेल आयोजना हुने भएको हो।
चुलेण्डी गोल्डकपका संस्थापक जेबी राईले नेपालीहरूको महानचाड वडादशैँ तथा दीपावलीको अवसरमा कात्तिक ८ गतेदेखि ११ गतेसम्म उक्त खेल आयोजना गरिएको जानकारी दिए।
‘स्वास्थ्यका लागि खेलकुद–एकताका लागि खेलकुद भन्ने नाराका साथ फुटसल खेल आयोजना गरेका छौँ,’उनले भने,‘खेलमार्फत गाउँको विकास होस,युवाहरूले पनि आफ्ना प्रतिभा प्रस्फुटन गरून् भन्ने हाम्रो लक्ष्य छ।’
उनका अनुसार प्रथम पुरस्कार ४० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र,द्वितीय पुरस्कार २५ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र, उत्कृष्ट टिमलाई ५ हजार साथमा मेडल र प्रमाणपत्र उत्कृष्ट खेलाडी र गोल रक्षकलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ।
टिम दर्ता शुल्क ३ हजार तोकिएको छ। उक्त खेलको स्थापना २०७० सालबाट सुरु भएको हो। खेल आयोजनाकाे लागि मानेभञ्ज्याङ–५ वडा कार्यालयको आर्थिक सहयोग रहेको छ भने संयोजन चुलेण्डी गोल्डकप ग्रुपले गरेको छ।