चन्द्रौटा (कपिलवस्तु), ९ असोज ।
हरेक किसिमका व्यापार व्यवसायलाई मर्यादित बनाउनुपर्ने एक कार्यक्रममा सरोकारवालाले जोड दिएका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले समसामयिक विषयमा राखेको सर्वपक्षीय छलफलमा सहभागी सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् ।
कानुन सम्मत संचालन भएका व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने सरोकारवालाको धारणा थियो । तर व्यापार व्यवसायको नाममा गलत गतिविधि गर्न नहुने सबैले तर्क राखे । पछिल्लो समय होटल व्यवसायमा मसाज संचालनको बहानामा गलत क्रियाकलाप मौलाएकोप्रति चिन्ता व्यक्त गर्दै यसतर्फ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्नेसरोकारवालाहरुले औल्याए । त्यतिमात्र नभई विभिन्न व्यापार व्यवसायको नाममा व्यवसायीबाट नै सेवाग्राही ठगिनु परेको जनगुनासोलाई समेत मध्यनजगर गर्नुपर्ने उनीहरुको जोड थियो ।
चाडपर्व नजिकिएसँगै खाद्यपदार्थमा मिसावट, म्याद नाघेका सामानको विक्रीवितरण जस्ता समस्यालाई समेत न्यूनीकरण गर्न प्रहरी प्रशासन र स्थानीय पालिकाले अनुगमनमा तिब्रता दिनुपर्ने माग राखे । यस क्षेत्रमा हुने विभिन्न किसिमका सामाजिक विकृति, चोरी डकैती, लुटपात, मानव तस्करी तथा असुरक्षा लगायतका घटनामा कमी ल्याउन सम्बन्धित निकायले अझ सक्रियता बढाउपर्ने सरोकारवालाले जिकिर गरे ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष लेखनाथ घर्तीले होटल व्यवसायलाई व्यवस्थित, सरसफाई र मर्यादित बनाउन संघको अभियानमा सबै सरोकारवालाको साथ र समर्थन आवश्यक रहेको जिकिर गरे । कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा, महिला अधिकारकर्मी मीना परियार, कानुन व्यवसायी शरद अधिकारी, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे, पेट्रोलियम व्यवसायी ढुण्डीराज अधिकारी, राजनीतिज्ञहरु मधुसुदन पोख्रेल, जगत पौडेल, चिन्ता परियार शुसिला खनाल लगायतले चन्द्रौटा क्षेत्रमा भइरहेका विकृति विसंगतिबारे औल्याएका थिए ।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष नेत्रप्रसाद बेल्बासेले आफ्नो वडामा हुने गरेका यस किसिमका विभिन्न समस्याहरुप्रति आफू सम्बेदनशील रहेको औल्याउँदै न्यूनीकरणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको जिकिर गरे ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गीता प्रसाद चौधरीले आफ्नो सेवाक्षेत्रभित्र शान्ति सुव्यवस्था र अमन चयन कायम गर्न आफू दिनरात तैनाथ रहेको उद्घोष गरे । यसका लागि स्थानीय निकाय र सबै सरोकारवालालाई सकारारत्मक सहयोग गर्न आग्रह गरे ।
शिवराज नगरपालिका उपप्रमुख तथा अनुगमन समिति संयोजक शिवकुमारी चौधरीले बजारक्षेत्रका साथै समग्र शिवराज नगरलाई सुन्दर, व्यवस्थित, शान्ति सुव्यवस्था र व्यापार व्यवसायलाई मर्यादित बनाउन सबैसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरिन् । यसका लागि सबै सरोकारवालाबाट रचनात्मक सहयोगको अपेक्षा गरिन् । कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले शिवराज नगरका शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा व्यापार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिका तत्पर रहेको उद्घोष गरे । कार्यक्रमको आयोजना गरेर सबैलाई यस क्षेत्रका समस्या उजागार गर्ने अवसर जुटाइदिएकोमा आयोजक संस्था होटल तथा रेष्टुरेन्ट व्यवसायीप्रति विशेष आभार प्रकट गर्दै समस्या उजागार गरेर मात्र होइन रचनात्मक सहयोग गरेर समाधानका उपायमा साथ दिनुपर्ने जिकिर गरे । कार्यक्रम अर्घाखाँची बिमला होटलमा सम्पन्न भएको थियो ।