काठमाडौँ : नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमतिअनुरूप विधेयक संशोधन गरी पारित गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ।

सोमवार नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोलीले सभामुख देवराज घिमिरेलाई भेटी सरकारसँग गत असोज ५ गते भएको सहमतिका बारेमा जानकारी गराएको हो। आन्दोलनरत शिक्षक र सरकारकारबीच भएको सहमतिअनुरूप विधेयकलाई संशोधन गर्दै पारित गर्न शिक्षकहरूले सभामुखको ध्यानाकर्षण गराएका हुन्।

आफूहरूले पटक–पटक सहमतिको नाममा सरकारबाट धोका खाएको भन्दै शिक्षकहरूले योपटक भने विधेयकमा सहमतिका बुँदाअनुरूप संशोधन भई माग पूरा गर्न सभामुखलाई अनुरोध गरिएको छ।

सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सहअध्यक्ष पराजुलीले सभामुखलाई सरकारसँग भएको सहमतिको बुँदा हस्तान्तरण गर्दै संसद्‌मा आवश्यक भूमिका खेल्न आग्रह गरिएको बताइन्। उनले विधेयक फिर्ता नगरी शिक्षकहरूको आवश्यक माग सम्बोधन गर्दै तुरुन्त पारित गर्न आग्रह गरिएको पनि बताइन्।

उनले भने, ‘नेपाल सरकारको वार्ता समिति र नेपाल शिक्षक महासंघका तर्फबाट भएको सहमतिका बुँदाहरूलाई समेटी जसरी पनि ऐन जारी हुनुपर्छ। सहमति भएका कुरा त्यहाँ संशोधन गरिनुपर्छ। विधेयक आउने प्रक्रियामा हजुरले लगिदिनुपर्छ भन्ने हाम्रो अनुरोध हो। अनुरोधका साथ आज हामीले सहमति भएका बुँदा हामीले हस्तान्तरण गर्‍यौँ।’

यसैगरी सभामुखले ऐन जारी गर्न शिक्षकहरूको कुरा पूरा गर्न आफ्नो पहल हुने जानकारी दिए।

सभामुख घिमिरेले शिक्षकहरूको सरकारसँग भएको सहमतिबमोजिम विधेयक पारित गर्न आफूले पहलकदमी लिने बताएको सहअध्यक्ष पराजुलीले जानकारी दिइन्।