फाइल तस्बिर

आर. ए. अन्जान
चन्द्रौटा, ७ असोज ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको पर्यटकीय स्थल राजापानीमा साहसिक खेल सञ्चालन हुने भएको छ । लायन्स क्लब अफ कपिलवस्तुले असोज २७ गते देखि दोस्रो पटक खेलको आयोजना गर्न लागेको क्लबका अध्यक्ष ओम प्रकाश घिमिरेले बताए । साहसिक खेल ‘साइकल प्लाङ्क ब्यालेन्स’ को दोस्रो संस्करण हुने भएको हो । खेलमा विजेता ५० हजार रुपैया पाउने छन् ।

अध्यक्ष घिमिरेका अनुसार खेल खेलाउने मात्र उद्देश्य मात्र नभई राजापानी पर्यापर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने रहेको छ । पानी माथी ट्रयाक निर्माण गरी साइकल चलाएर निश्चित दुरी पार गरी खेलिने खेल गत वर्ष पहिलो पटक नेपालमा संचालन भएको थियो । नौ इन्च चौडाई रहेको ५२ मिटर लामो ट्रयाकमा साइकल हिँडाई पार गर्नेले उपाधि जित्ने छ । खेल संयोजक विष्णु घिमिरेले साहसिक सँगै मनोरञ्जन हुने हुँदा देशभरका साइकल राइडरलाई सहभागिता गराउने लक्ष्य रहेको बताए ।

देशभरका ३ सय ५० साइकल राइडरको सहभागिता हुने उनले जनाए । आयोजकका अनुसार एक दिन सञ्चालन हुने प्रतियोगितामा १३ लाख रकम खर्च हुने अनुमान छ । प्रथम हुनेले ५० हजार दोस्रोले २५ हजार तेस्रोले १५ हजार पुरस्कार पाउने छन् । खेलाडीहरुको लागि साइकल, लाइफ ज्याकेट र हेलमेटको व्यवस्थापन आयोजकले गर्ने संयोजक घिमिरेले जानकारी दिए । पत्रकार सम्मेलन गरि खेलबारे जानकारी गराउँदै तस्बिर : जानू पाण्डे