काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनाबारे नेपाली कांग्रेसको धारणाबारे जानकारी मागेका छन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डेले केन्द्रीय समिति बैठकमा बोल्दै प्रदेश संरचनाबारे पार्टीको आधिकारिक धारणा माग गरेका हुन्।

उनले कांग्रेसले संविधानमा उल्लेख भएर मात्र संघीयतालाई आत्मसात गरेको हो वा यसलाई लागू गर्ने दृढ इच्छाशक्ति पनि छ भन्दै प्रश्न गरे।

संघीयताका विषयमा प्रश्न उठिरहेको भन्दै उनले अब कांग्रेस यो बारेमा प्रष्ट हुनुपर्ने बताए। संघीय, प्रदेश र स्थानीय गरी तीन तहको संरचना रहेकामा अहिले पहिलो प्रहार प्रदेश संरचनामाथि भइरहेको पाण्डेको भनाइ छ।

संविधानमा कल्पना गरेअनुसारको कानुन संघीय सरकारले नबनाउँदा प्रदेश सरकारले चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको उनको गुनासो थियो।