छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी
घनश्याम भर
कपिलवस्तु, ७ असोज।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा ‘छाेरी बचाउँ, छाेरी पढाउँ’ अभियान प्रभावकारी बन्दै गएकाे छ । विजयनगरका दम्पतीले गाउँपालिकाले चलाएकाे याे अभियानप्रति आकर्षित भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा ७३ जना छाेरीकाे खातामा एकमुष्ठ रकम जम्मा गरेकाे छ । यस्तै चालू आर्थिक वर्ष २०८०/०८१ मा २ महिनामा मात्रै १४ जना छाेरीकाे खातामा रकम जम्मा गरिएकाे छ । छाेरी बचाउँ, छाेरी पढाउँ अभियान अन्तर्गत हालसम्म १४ महिनामा ८७ जना दम्पतीका पहिलो छाेरीका नामकाे खातामा रकम जम्मा गरिएको गाउँपालिका सूचना अधिकारी हिमलाल पाैडेलले जानकारी दिए ।
गाउँपालिकाले परिवारमा पहिलो जन्मिने छोरीका नामको बैंक खाता सञ्चालन गरि १५ हजार रुपियाँ बचत गर्ने कार्यक्रम ल्याएको हाे । समाजमा रहेका छाेरी प्रतिकाे नकारात्मक मनाेवृतिलाई निश्तेज पार्न ‘विजयनगर गाउँपालिका छाेरी बचाउँ, छाेरी पढाउँ’ अभियान चलाएको छ । गाउँपालिकाले यस अभियानले लैङ्गिक समानता कायम गर्ने पूर्ण विश्वास लिएकाे छ । विविध घरायसी कारणबाट शिक्षाकाे उज्यालो घामबाट वञ्चित हुन पुगेका तथा कक्षा छाड्नेहरुकाे हालकाे अवस्थालाई मध्यनजर गरि छाेरी बचाउँ, छाेरी पढाउँ अभियान चलाएकाे हाे । आगामी दिनहरुमा त्यसाे हुन नदिन र छाेरा र छाेरीबीचकाे भेदभाव अन्त्य गर्नका लागि यस अभियानमार्फत गाउँपालिकाले जाेड दिएकाे छ ।
विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बचतका माध्यमबाट भविष्यको आर्थिक बाेझ कम गर्ने बताए । सहज जीवन निर्वाह गरि आत्मसम्मानका साथ जीउने वातावरण निर्माणका लागि पहिलो सन्तानकाे नाममा रहेकाे बैँक खातामा गाउँपालिकाले एकमुष्ठ १५ हजार रुपियाँकाे दरले रकम जम्मा हुने गरेकाे जानकारी दिए । अध्यक्ष थापाले भने; “परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले १५ हजार बचत गर्छ । त्यो शिशुको परिवारलाई पनि अनिवार्य कम्तिमा ५ हजार वा त्यो भन्दा बढी रकम जम्मा गर्न लगाइन्छ” ।
बैंकमा जम्मा गरिएको रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि प्रयोग गर्न सकिने उद्देश्यले यो कार्यक्रम अघि सारिएको उनकाे भनाई छ । उनले यस अभियानले बाल बिबाहकाे अन्त्य हुने बताउँदै छाेरीकाे बिहेवारी गर्दा लाग्ने खर्चमा केही राहतसमेत पुग्ने बताए । ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन याे कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष थापाले बताए ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले छाेरीकाे नाममा बैंकमा जम्मा गरिएको रकम पाउन गाउँपालिकाले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा जाँच गरे/नगरेको रिपोर्ट कार्ड अनिवार्य गराएको बताइन् । उनले यसरी गर्भावस्थामा जाँच गर्नेको सङ्ख्यामा पनि वृद्धि हुने गाउँपालिकाले अपेक्षा लिएकाे जिकिरसमेत गरिन् । गर्भवतीले अनिवार्य बर्थिङ सेन्टरमा शिशु जन्माएकाे हुनुपर्ने बताउँदै शिशु जन्मेको ३५ दिनभित्र नै जन्मदर्ता गराई सक्नुपर्ने व्यवस्था रहेकाले जन्म दर्ता पनि समयमा नै हुने उपाध्यक्ष चाैधरीले बताइन् । उनले तराई-मधेशमा महिलाको नागरिकता समयमा नै नबनाउने दरमा यो कार्यक्रमले कमी ल्याउने बताउँदै यसले महिला हिंसा न्यूनीकरणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले गाउँपालिकाबाट छाेरी बचाउँ, छाेरी पढाउँ अभियानका माध्यमबाट कार्यक्रम सञ्चालन गर्न वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ काे दफा १०२ काे अधिकार प्रयोग गरि विजयनगर गाउँकार्यपालिकाले निर्देशिका बनाई लागू गरेकाे जानकारी दिए । उनले विजयनगर गाउँपालिका छाेरी बचाउँ, छाेरी पढाउँ अभियान सञ्चालन निर्देशिका २०७८ रहेकाे बताए ।
रिजालले विजयनगर गाउँपालिका क्षेत्रभित्र बसाेबास भएका विवाहित दम्पतीबाट जन्मिएका पहिलो छाेरीलाई बुझ्नुपर्ने बताउँदै पहिलो, दाेस्राे वा साे भन्दा बढी सन्तान छाेरा भएकोमा साे पछि जन्मिएको पहिलो छाेरीलाई समेत जनाउने बताए ।
उनका अनुसार गाउँपालिकाले एकमुष्ठ बीउ पुँजीकाे काेषकाे रुपमा जम्मा गर्छ । साे काेषमा अभिभावकले आफ्नो इच्छा अनुसार थप रकम जम्मा गर्न सक्नेछन् ।
विजयनगरकाे वडा नम्बर २ जर्लैया बस्ने रिता यादवले आफ्नी पहिलो छाेरी राधिका यादवकाे नाममा बैंकमा खाेलिएकाे खातामा गाउँपालिकाले १५ हजार रुपियाँ जम्मा गरेकाे बताइन् । उनले गाउँपालिकाले उक्त रकम दावीका लागि बनाइएको सबै मापदण्ड पूरा गरेकाेले छाेरीकाे नाममा साे रकम र थप ५ हजार गरि खातामा जम्मा भएको सुनाइन् । उनले विजयनगरका सम्पूर्ण छाेरीहरुकाे उज्ज्वल भविष्यका लागि सराहनीय काम भएको भन्दै प्रशंसा समेत गरिन् ।
नियमित विद्यालय जान र शिक्षाप्रति आकर्षित गर्न गाउँपालिकाले हरेक वर्ष कक्षा ६ भन्दामाथि अध्ययनरत छात्रालाई साइकल, शैक्षिक सामग्री र छात्रावृत्ति वितरण गर्दै आइरहेको गाउँपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















