काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जीवन सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताएका छन्।

गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियान समारोहमा पौडेलले योगले ‘स्वस्थ मन’ बनाउने धारणा राखे‍का हुन्।

‘जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनाबबाट मुक्त गर्नका लागि पनि योगको आवश्यकता छ’, उनले भने ‘चित्तलाई अनुशासनमा राख्नु नै योगको सार हो।’ राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने बताए।

समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको योग र ध्यान गर्ने निर्णयअन्तर्गत यो कार्यक्रम शुरुआत गरिएको जानकारी दिए। यो कार्यक्रमलाई प्रदेश र जिल्लामा समेत विस्तार गर्न लागेको बताए।

उनले प्रहरीको हकमा कुन बेला गर्ने भनेर योजना बनाउन बाँकी रहेको तर प्रशासनिक क्षेत्रमा कार्यालय समयको शुरुको १५ मिनेट योगाभ्यास गर्ने गरी योजना बनाइएको जानकारी दिए।