सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति हिगिन्सबीच शिष्टाचार भेट
काठमाडौं : आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् छ।
राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए। भेटमाघिमिरेले कूटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए।
‘सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधिसभाका सभामुखले गरेको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ट बनाएको छ’, उनले भने।
सभामुख घिमिरेले नेपाल र आयरल्याण्ड भौगोलिक रूपले टाढा भएता पनि कला, साहित्य, संगीत तथा संस्कृतिका माध्यमले नजिक रहेको धारणा राखे।
सभामुख घिमिरेले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे। उनले लगानीकर्तालाई आकर्षित गर्न आवश्यक कानूनी एवं नीतिगत सुधार भइरहेको जानकारी दिए।
भेटमा आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्सले नेपाल लोकतन्त्रको बाटोमा अघि बढेकाबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रूपमा दुवै मुलुक धनी रहेको धारणा राखे। उनले सर्वोच्च शिखर सगरमाथा र हरित पर्यटनका लागि नेपाल जान आइरिस नागरिक लालयित रहेको बताए।
राष्ट्रपति हिगिन्सले नेपाल–आयरल्याण्डमैत्री समूहमार्फत नेपालको कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सकिने प्रतिक्रिया दिए। तीन सदस्यीय प्रतिनिधमण्डलको नेतृत्व गर्दै आयरल्याण्ड भ्रमणमा रहेका सभामुख घिमिरे आइतबार बिहान १०ः१५ बजे काठमाडौँ फर्किने कार्यक्रम छ।
भ्रमण टोलीमा सभामुखसँगै प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















