काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभइ विपीको विचारबाट फालिएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताए। उनले विपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहेको बताए। उनले संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजतन्त्र राख्ने पक्षमा विपी भएको बताए। उनले राजतन्त्र फालेर पनि अहिलेसम्म राम्रो गर्‍यौं भन्ने ठाउँ नरहेको बताए।

‘मेरो अनुभवले यो भन्छ की २०५२ सालदेखि यो २०८० सम्मको हाम्रो राष्ट्रिय समय जम्मै खेर गएको छ। राजा फाल्ने कुरा कुन ठूलो कुरा थियो ? त्यो संविधानले सक्दैन थियो। राजासँग हामी लडेका थिएनौँ ? विपी कोइरालाको विचार हेर्नुस् त। उनले राजालाई संविधान सभा भित्र बस्छौ की बस्दैनौ ? भनेर समय समयमा अल्टिमेटम दिनुभएको थियो। बस्दैनौ भने राजतन्त्र जान्छ भन्नुभएको थियो’, उनले भने, ‘यो माओवादीले फालेको हो र ? विपीको विचारले फालेको हो। विपी फालिहाल्नेमा हुनुहुन्न थियो। संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजारानीको ढाँचामा हाम्रो राजतन्त्र बस्छ भने हामी राख्छौँ। होइन भने फाल्छौँ भन्नुभएको थियो। त्यसकारण यो माओवादीले फालेको होइन। फालेर राम्रो गर्‍यो त ? त्यो पो चाहियो छ।’

कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं एमाले नेता अग्नि खरेलले संविधान संशोधनको मामिलालाई धेरै नकारात्मक रुपमा लिँदा २०४७ सालको संविधानको हालत जस्तै हुने बताए। उनले २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐनले अहिलेको संघीयताको भन्दा बढी स्थानीय तहमा अधिकार दिएको बताए। उनले तर संविधानका कतिपय चिजमा संशोधन गर्न तयार नहुँदा संविधानमाथि नै प्रश्न उठेर परिवर्तन गर्नुपरेको बताए। उनले संविधान संशोधन जरुरी रहेको र संघीयतालाई अझै पनि परीक्षण गर्न जरुरी रहेको बताए।

कार्यक्रममा माओवादी नेता एवं पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अहिलेको संविधान टिकाउनुपर्ने बताए। उनले अहिलेको संविधानलाई आवश्यक स्थानमा परिमार्जन र संशोधन गर्नुपर्ने बताए। उनले संशोधन र परिमार्जनका लागि कुनै आयोग गठन हुनुपर्ने बताए। निर्वाचन प्रणाली संशोधन हुनुपर्नेमा आफू सहमत रहे पनि गणतन्त्र, धर्म निरपेक्ष, संघीयता र अन्य फण्डामेण्टल कुरा कुरामा संशोधन गर्न नसकिने बताए।

‘नेपालको संविधान नै २००४ सालदेखि अहिलेसम्म ७ वटा भइसक्यो। एउटा पनि संविधान नटिकाउने ? त्यसकारण यो संविधान टिकाउनु पर्छ। यसलाई परिमार्जित गर्नुपर्छ। संशोधन गर्नुपर्छ। यसको निम्ति कुनै आयोग गठन गर्न सकिन्छ। निर्वाचन प्रणाली संशोधन हुनसक्छ, गणतन्त्रको बारेमा, धर्म निरपेक्षको बारेमा, संघीयताको बारेमा अथवा फण्डामेण्टल कुराको बारेमा संशोधन हुँदैन। अहिले गर्न सकिँदैन’, उनले भने, ‘राष्ट्रपति खराब भयो, पहिलाकै राजा ठीक थियो भन्छन्। राष्ट्रपतिका काममा पनि हामीले विरोध गर्न पायौँ, अहिले पार्टीतिर छन्।’

उनले माओवादीले त्यसै जनयुद्ध गर्‍यो भन्ने कुरा उठेको भन्दै माओवादीसँग सम्झौता भएको माया गरेर नभएको बताए। उनले त्यसबेलामा रहेका सात दलले पनि माओवादीलाई जित्न नसक्दा र राजाले पनि जित्न नसकेको र माओवादीले पनि राजालाई जित्न नसक्दा सम्झौता भएको बताए।