अवस्था परिवर्तन गर्न नयाँ सङ्घर्ष जरूरी भाे : प्रदेश प्रमुख परियार
कर्णाली : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा र व्यवहारमा प्रयोग गर्नुको विकल्प नभएको बताएका छन्।
प्रदेश सरकारद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले इतिहासमा नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको आजको महत्वपूर्ण दिनको स्मरण गर्दै नेपाली समाजको विविधतामा एकता अपरिहार्य भएको जनाए।
प्रदेश प्रमुख परियारले भने, “नेपाल सयौँ जातजाति, भाषाभाषी, विविध सांस्कृतिक र धार्मिक आस्था राख्ने जनताको सङ्गमको थलो हो, यी सबैको भावनाको प्रतिनिधि नेपालको संविधान २०७२ ले प्रतिनिधित्व गरेको छ।”
सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण तथा आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्ने राष्ट्रिय सङ्कल्प आवश्यक भएकामा जोड दिएका प्रदेश प्रमुख परियारले समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि सबै सरोकारवालाहरूलाई एकताबद्ध भई अगाडि बढ्न अपिल गरे।
मुख्यमन्त्री राजकुमार शर्माले परिवर्तित व्यवस्थासँगै जनताको अवस्था परिवर्तनका लागि नयाँ खालको सङ्घर्ष जरूरी भएको औँल्याए। उनले भने “हामीले एकात्मक राज्य व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र अर्थात् जनमैत्री शासन व्यवस्था ल्याएका छौँ, जसका कारण सिंहदरबारभित्र कुण्ठित अधिकार गाउँगाउँमा पुगेको छ, यो नै जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि भएका आन्दोलनहरूको उपलब्धि हो।”
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधान र सङ्घीयताको संस्थागत विकास गर्नु आजको प्रमुख कार्यभार भएको बताए।
प्रतिनिधिसभा सदस्य अमरबहादुर थापाले संविधानमा व्यवस्था भएका हक तथा अधिकारहरूलाई जनताले पूर्णरूपले प्रयोग गर्न पाउने अवस्थालाई सुनिश्चित गर्नेतर्फ सबै सरोकारवालाहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















