आर. ए. अन्जान
चन्द्रौटा, ३ असोज ।

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा संविधान दिवस मनाइने भएको छ । संविधान दिवसको अवसर पारेर बुधबार (आज) साँझ चन्द्रौटामा सामूहिक दिप प्रजवलन गरि दिवस मनाइने भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले संयक्त रुपमा एक विज्ञप्ति जारी गर्दै दिवस मनाउन लागिएको जनाइएको छ ।

विज्ञप्तिमा यस्तो लेखिएको छ ः संविधान दिवसको अवसरमा राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ । जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहित आदिवासी जनजातिलगायत विभिन्न समुदायका संघर्षमा सहभागी सबै प्रति आभार प्रकट गर्दछौँ ।

संविधानसभाबाट संविधान निर्माण नेपालमा ऐतिहासिक उपलब्धि हो । महान् दश वर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन लगायत राजनीतिक परिवर्तनका लागि भएका तमाम् आन्दोलनको योगफलको रूपमा नेपालमा संविधानसभाबाट संविधान जारी भएको हो । जनताबाट निर्वाचित प्रतिनिधिहरूबाट तर्जुमा भएको संविधानबाट मात्र शासित हुने नेपाली जनताको सात दशक लामो चाहना यसै संविधानमार्फत् पूरा भएको छ ।

त्यसैले संविधान जारी भएको दिन असोज ३ लाई नेपाल सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउँदै पनि आएको छ । साथै यो संविधानको महान उपलब्धिहरुलाई पुर्ण रक्षा गर्नु हामी सबैको समान दायित्व हो । यसै सन्दर्भमा शिवराज नगरमा रहेका सक्रिय राजनैतिक दलहरुले साँझ ६ बजे चन्द्रौटा बजार चोकमा सामुहिक दिप प्रजवलन गरी यो दिवसलाई भव्यताका साथ मनाउने भएकाले सम्पूर्ण संघ संस्था, नागरिक समाज, बुद्धिजीवी, पत्रकार एवं न्यायप्रेमी जनसमुदायहरुलाई उपस्थितिका लागि अनुरोध गरिने भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।