विपक्षी गठबन्धनले किन गर्यो भारतमा १४ समाचार प्रस्तोतालाई बहिष्कारको घोषणा?
फाइल
भारतीय विपक्षी गठबन्धनले घृणा फैलाएको र सत्तासिन दलको पक्षधरता गरेको आरोप लगाउँदै केही टेलिभिजन समाचार प्रस्तोतालाई बहिष्कार गर्ने प्रतिबद्धता जनाएका छन्।
सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी सदस्य रहेको भारतीय जनता पार्टी (भाजपा) ले सत्ता सम्हालेदेखि नै अधिकारकर्मी र अधिकारवादी समूहले प्रेस स्वतन्त्रतामाथि आवाज उठाउँदै आएका छन्।
विपक्षी राजनीतिज्ञहरूले भारतको ‘केबल न्युज शो’हरू भाजपाको एजेन्डामा चल्ने गरेको आरोप लगाएका छन्। उनीहरूले मुस्लिम र इसाई अल्पसङ्ख्यकविरूद्ध ध्रुवीकरण गर्ने खालका कार्यक्रम पनि समावेश गर्नेगरेको विपक्षी नेताहरूले आरोप लगाएका छन्।
भारतीय कांग्रेसका प्रवक्ता पवन खेराले बिहीबार एक भिडियो वक्तव्य जारी गर्दै भने, ‘हामी घृणाले भरिएको यो कथालाई वैधता दिन चाहँदैनौं, जसले हाम्रो समाजलाई कमजोर बनाइरहेको छ।’
उनले यस प्रसंगलाई थप जोडे, ‘हामी घृणाका यी शो रुमहरूमा भाग लिने छैनौं।’
कांग्रेसले दुई दर्जनभन्दा बढी भारतीय दलहरूको गठबन्धन गरी आगामी निर्वाचनमा जाने घोषणा गरिसकेको छ। यसले अर्को वर्ष हुने राष्ट्रिय चुनावअघि भाजपाविरूद्ध एकीकृत विकल्प प्रदान गर्ने आशा विपक्षी दलहरूले गरिरहेका छन्।
मोदीको पार्टीले आगामी निर्वाचनमा पनि जित निकाल्ने अपेक्षा गरिएको छ।
विपक्षी समूहले आफ्ना सदस्यहरू भारतका केही लोकप्रिय टिभी समाचार व्यक्तिसहित १४ प्रस्तोताहरूको कार्यक्रममा उपस्थित नहुने बताएको छ।
उग्र र जुझारु बहस कार्यक्रमहरू भारतीय केवल समाचारहरूको एक प्रमुख आकर्षण हो। कहिलेकाहीं एक दर्जन वा बढी वहसकर्ताहरू दर्शकको ध्यान खिच्ने वहसमा आफ्ना तर्कहरू प्रस्तुत गर्नेगर्छन्।
विपक्षी दलहरूले लामो समयदेखि सञ्जालहरूले निष्पक्षताका आधारभूत मापदण्डहरू पालना गर्न नसकेको र आफ्ना गतिविधिहरूलाई अनुचित रूपमा नकारात्मक प्रकाशमा प्रस्तुत गरेको आरोप लगाउँदै आएका छन्।
आजतकका सुधिर चौधरीले प्रस्तोतामाथि प्रहार गरेको भन्दै गठबन्धनको खिल्ली उडाएका छन्।
तर विपक्षी सांसदहरूले आलोचनात्मक प्रश्नहरूको सामना गर्न इन्कार गर्नुले समाचार संस्थाहरूलाई ‘खतरनाक स्थिति’ मा पुर्याएको पनि उनले बताए।
न्यूज ब्रोडकास्टर्स एन्ड डिजिटल एशोसिएशन (एनबीडीए) ले भने बहिष्कार ‘लोकतन्त्रको मूल्यमान्यता विपरीत’ भएको बताएको छ।
समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले असहिष्णुतालाई बढावा दिन्छ र प्रेस स्वतन्त्रतालाई खतरामा पार्छ।’
भाजपा नेता मोदीले कार्यभार सम्हालेयता रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को विश्वव्यापी प्रेस स्वतन्त्रता वरियतामा भारत २१ स्थान तल झरेको छ र सर्वेक्षण गरिएका १८० देशमध्ये १६१ औं स्थानमा छ।
सरकारको आलोचनात्मक रिपोर्टिङ गर्ने पत्रकारहरूले कहिलेकाहीं जेल सजायसम्म भोग्नु परेको छ र अक्सर भाजपाका समर्थकहरूले सामाजिक सञ्जालमा उनीहरूको खेदो खन्छन्। भाजपाले हिन्दू पहिचानको वकालत गरेर आफूलाई भारतको प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित गरेको छ।
भारतीय जनता पार्टी (भाजपा) को सामाजिक सञ्जाल पहुँचमा प्रमुख राजनीतिज्ञ अमित मालवीयले बहिष्कारले आफूले लक्षित गरेका प्रस्तोतामा सकारात्मक प्रभाव परेको बताए।
मालवीयले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरूले यसलाई थप शक्ति सम्मानको बिल्लाको रूपमा लगाउनुपर्छ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















