फाइल

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धी प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री दाहालले सो अस्पतालको बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले संसदमा आफ्नो अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सो प्रकरणमा किटान गरिएका दोषीलाई कारबाही गर्ने ढंगले अभिव्यक्ति नदिएकोमा आपत्ति जनाए।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले सो घटना कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण हुन गएको बताएका थिए।

पूर्वस्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले किटान गरेका दोषीलाई कारबाही हुनेगरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको र संसदमा पनि आफूलाई बोल्ने अवसर नदिएको भन्दै आक्रोश व्यक्त गरे। उनले सो घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे। मकवानपुरमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पनि तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरे।

उनले भर्खरै संसदबाट पारित स्वास्थ्य संस्थासम्बन्धी ऐन अनुसार सो दुवै घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताए। उनले नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन पनि सरकारले मकवानपुर, कान्ति बाल अस्पतालका घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने बताए।

महामन्त्री थापाले आफ्नो पार्टीले सरकारलाई राम्रो काम गर्नका लागि दबाब दिइरहने पनि दोहोर्‍याए।