काठमाडौं : नियामक निकायहरूले निजी क्षेत्रका सुझावहरूलाई सम्बोधन गर्न नसक्दा अर्थतन्त्र मन्दीमा गएको निजी क्षेत्रको दाबी रहेको छ।

मंगलबार काठमाडौंमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै निजी क्षेत्रका तीन छाता संगठनका अध्यक्षहरूले यस्तो दाबी गरेका हुन्। उनीहरूले सरकारले निजी क्षेत्रको माग अनुसार नीतिहरू बनाउन चाहे पनि नियमनकारी निकाय राष्ट्र बैंकले आफूखुशी नीतिहरू बनाइरहेको आरोप लगाए।

राष्ट्र बैंकले निजी क्षेत्रले मुलुकको लागि भन्दा पनि आफ्ना लागि मात्रै सुझावहरू दिएको भन्ने मान्यताका आधारमा नीतिहरू बनाएको भन्दै असन्तुष्ट जनाए। उनीहरूले राष्ट्र बैंकले चालू पुँजी कर्जा निर्देशिका संशोधन तथा एकीकृत निर्देशन निजी क्षेत्रको सुझाव भन्दा फरक आएको बताए।

निजी क्षेत्रले दिइने सुझावहरू व्यवसायीहरूको हीतमा भन्दा पनि मुलुकको अर्थतन्त्र चलायमान बनाउने विषयमा केन्द्रित भएको दिने गरेको दाबी उनीहरूको छ। निजी क्षेत्रले दिएका सुझावहरूलाई सरकार र नियमनकारी निकाय राष्ट्र बैंकले सम्बोधन नगर्दा मुलुक आर्थिक मन्दितर्फ उन्मुख भएको बताए। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले ल्याउने हरेक नीतिहरूमा निजी क्षेत्रको सुझावलाई बेवास्था गरिएको बताए।

उनले निजी क्षेत्रले दिने सुझावहरू व्यवसायीहरूको हीतमा मात्रै रहेको जस्तो मान्यतामा राष्ट्र बैंक रहेको बताए। उनले निजी क्षेत्रले दिने सुझावहरू निजी क्षेत्रका व्यवसायीहरूको हितमा मात्रै नभएर चुनौतिपूर्ण अर्थतन्त्र चलायमान बनाउने गरी दिने गरेको दाबी गरे। अध्यक्ष ढकालले नियमनकारी निकायहरूले ल्याएका नीतिहरू समन्वय गरेर भन्दा पनि संस्था प्रधान भएर ल्याएको उल्लेख गरे। उनले श्रीलंकको क्रास देखाएर ल्याएका नीतिहरू र आयात प्रतिबन्ध लगाउने विगतका नीतिहरू एक पक्षीय भएको बताए।

त्यस्तै,नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रको मनोबल कमजोर भएको कारण अर्थतन्त्र मन्दीमा गएको बताए। उनले मन्दीमा रहेको अर्थतन्त्र उकास्न निजी क्षेत्रको घटेको मनोबल बढाउन आवश्यक रहेको भए पनि राष्ट्र बैंक ल्याउने नीतिको कारण व्यवसायीहरूको मनोबल अझ कम हुँदै गएको बताए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले निजी क्षेत्रको माग अनुसार नीति ल्याउन चाहे पनि राष्ट्र बैंकले ल्याउने नीतिले उद्योग व्यवसायी खलबल्याएको दाबी गरे। उनले राष्ट्र बैंकले ल्याउने नीतिहरू निजी क्षेत्रसँग समन्वय गरेर ल्याउन अर्थमन्त्रीले विशेष पहल गरिदिन आग्रह गरे।

उनले मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रमा सुधार आए पनि आन्तरिक अर्थतन्त्र सुधार हुन अझै नसकेको बताए। उनले अर्थतन्त्र सुधार गर्न राष्ट्र बैंकले चालू पुँजी कर्जाको निर्देशिका खुकुलो जस्तो देखाए पनि निर्देशिकासँगै आएको एकीकृत निर्देशनले व्यवसायीहरूलाई थप समस्यामा पारेको बताए। उनले उक्त नीतिले ४० प्रतिशत मुलुकलाई योगदान गर्ने व्यापारीक क्षेत्रलाई समेट्न सकिएको बताए।

त्यस्तै,नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले कर्जाको सीमा तोक्ने अधिकार बैंक तथा वित्तीय संस्थाहरूलाई दिनुपर्ने बताए। उनले राष्ट्र बैंकले कर्जा व्यवस्थापन निर्देशनले अटो व्यवसायीहरू थप समस्यामा परेको बताए। उनले समूहको एक जना व्यवसायी कर्जाको कालो सूचिमा पर्दा अन्य सबै कालो सूचिमा पर्ने व्यवस्थालाई तत्काल सच्याउनको लागि सरकारले आवश्यक पहल गर्न माग गरे।