क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाउन थालियो
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’का खोप उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज आयोजित कार्यक्रममा ‘एचपिभी’का खोपको शुभारम्भ गर्दै उनले निकट भविष्यमा सबै उमेर समूहका किशोरीलाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले गाभीले सन् २०२४ बाट खोपको पर्याप्त मात्रा सहयोग गर्ने प्रतिबद्धता आएको जानकारी दिए।
“सीमित स्रोत र साधनका बाबजुत हामीले एचपिभी खोप लगाउन सुरु गरेका छौँ”, उनले भने, “उमेर समूहलाई ध्यानमा राखेर दिने खोप, यो खोप ७७ जिल्लाका सबै महिला÷किशोरीले पाउनुपर्छ। निकट भविष्यमा नेपालका सबै उमेर समूहका किशोरीहरुले यो खोप पाउनुपर्ने हुन्छ, त्यसका लागि मन्त्रालय दृढताका साथ अघि बढ्छ।”
मन्त्री बस्नेतले ‘एचपिभी’ खोप अस्पताललाई हस्तान्तरणपछि छजना किशोरीले खोप लगाए। मन्त्रालयका सचिव डा रोशन पोखरेलले खोपको मात्र कम भएता पनि यसको समानुपातिक वितरण हुने जानकारी दिए।
“बागमती प्रदेशमा प्रसूति गृह अस्पतालबाट सञ्चालन भएको छ। खोपको मात्रा सीमित भए पनि आवश्यक सबैलाई पु¥याउने मन्त्रालयको कोसिस हो”, उनले भने।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्राले पहिलो मात्राका लागि उमेर खुलेको आधिकारिक प्रमाण पुग्ने कागजात लिएर खोप लगाउन पाइने जानकारी दिँदै अभिभावक, विद्यालय र अस्पताललाई सहजीकरण गर्न आग्रह गरिन्।
आज मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेबाट खोप लगाउन सुरु भएको हो।
यस्तै, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइने छ। खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















