तीजका चेलीलाई मन्दीकाे मार, राेजाइमा सस्ता साडी
टीकापुर : तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ। विगतका तुलनामा यसवर्ष टीकापुर बजारमा पाँच सयदेखि एक हजार पाँच सयसम्मका सारी किन्ने महिला बढी आउन थालेका छन्।
महिला खर्च व्यवस्थापनमा ध्यान दिँदै बजारमा सबैभन्दा सस्तो मूल्यमा पाइने सारी किन्न थालेका छन्। व्यापारी पनि पाँच सयका सारीको कारोबार सबैभन्दा राम्रो भइरहेको बताउँछन्। टीकापुरकी अनु रतनले पनि पाँच सय मूल्यकै सारी किनिन्। उनले हरेक पर्वमा नयाँ सारी लगाउन मनलाग्ने भएकाले सारीमा धेरै खर्च गर्न नखोजेको बताइन्।
‘‘विगतमा महँगो सारी किनिन्थ्यो, एकपटक किनेको सारी धेरै कार्यक्रम तथा पर्वमा लगाइन्थ्यो’’, उनले भनिन्, ‘‘आजभोलि त्यस्तो गरिँदैन, हरेक पर्वमा नयाँ सारी किन्ने र नयाँ लगाउने गरिन्छ। नयाँ पहिरन लगाएपछि फोटो खिच्ने, टिकटक बनाउने र सामाजिक सञ्जालमा राखिन्छ। त्यसपछि त्यो फेरि लगाउन मन लाग्दैन। त्यसैले सस्तो लगाउने बरु नयाँ लगाउने हो।’’
अनुजस्तै दुर्गा शाहीले पनि सस्तो सारी किन्ने तयारी गरेकी छिन्। घरमा सारी धेरै भएकाले एक दिनका लागि मात्र चाहिने हुँदा उनी पनि पाँच सयको साडी किन्ने तयारीमा छिन्।
‘‘घरमा सारी राख्ने ठाउँ छैन तर तीजको व्रत बस्ने भएकाले नयाँ लुगा चाहियो’’, उनी भन्छिन्,, ‘‘त्यसैले सबैभन्दा सस्तो किन्ने तयारी छ। आर्थिक समस्या पनि छ। त्यसैले धेरै खर्च नगर्ने सोचेकी छु।’’
टीकापुरकी दुर्गा साउद मध्यम खालको साडी किन्ने तयारीमा छिन्। उनी पनि साडीमा अनावश्यक खर्च गर्ने तयारीमा छैनन्। ‘‘सबै साथी बजारमा न्यून मूल्यका सारी आएकाले त्यही किन्ने तयारीमा छन्, म पनि धेरै खर्च गर्दिन’’, उनले भनिन्,, ‘‘न्यून मूल्यका सारी लगाएमा सबैमा समानता पनि देखिन्छ।’’
विगतमा बजारमा पाँच सयका सारी पाइन्थेन। सारी भनेपछि मानिस एक हजारमाथिका किन्नुपर्छ भन्ने ठान्थे तर अहिले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा भाइरल भइदिँदा भाइरल कपडाको प्रयोग पनि बढ्दै गएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका कपडाको मूल्य पनि सबैले थाह पाउने हुँदा व्यापारी पनि सस्तो मूल्यका कपडा बिक्री गर्न बाध्य छन्।
तीज नजिकिएपछि सिलाइकटाइको काम गर्नेलाई भ्याइनभ्याइ भएको छ। तीजमा सारी पिको गर्ने, ब्लाउज सिलाउनेलगायतका काम बढेको रामदुलारी चौधरी बताउँछन्। आजभोलि उत्पादन नै सस्तो साडी हुने र आर्थिक मन्दिका कारण रकम अभावले पनि सस्ता कपडा बिक्री बढी भइरहेका कालिका टेडर्सका सञ्चालक सिंहमान विष्टले भने।
विष्टका अनुसार न्यून मूल्यका सारी बजारमा आएपछि सबैले सारी लगाउन थालेका बताउँछन्। अर्का व्यापारी गणेश बस्त्रालयका भवानी ढुङ्गाना पनि न्यून मूल्यका सारीको राम्रो कारोबार भइरहेको बताउँछिन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















