शिक्षक निर्देशिका : शिक्षकले कुन विषयवस्तुको कति घण्टा पढाउने ?
काठमाडौं ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को विज्ञान तथा प्रविधि विषयको शिक्षक निर्देशिका जारी गरेको छ। विकास केन्द्रले सिकाइ सहजीकरणमा शिक्षकलाई निरन्तर सहयोग पुगाेस् भन्ने हेतुले यस निर्देशिकाको विकास गरिएको जनाएको छ।
उक्त निर्देशिकामा विषयगत पढाउने समय, पढाउने तरिकालगायत कुराहरू समावेश छन्। विकास केन्द्रका अनुसार शिक्षक निर्देशिका शिक्षकलाई कार्यगत प्रशिक्षण दिने र सिकाइ सहजीकरण प्रक्रियामा नवीन प्रविधिसँग सधैं सक्रिय राख्ने पूरक सामग्री हो।
यसमा पाठ्यक्रम तथा पाठ्यपुस्तकमा निर्देश गरिएका सिकाइ सक्षकता, सिकाइ उपलब्धि, विषयवस्तुको विश्लेषण तथा सिकाइ सहजीकरणका क्रममा शिक्षकले अपनाउनुपर्ने विधि र तरिका उल्लेख गरिएको छ।
‘यसबाट सिकाइ बालकेन्द्रित, सिकाइकेन्द्रित, अनुभवकेन्द्रित, उद्देश्यमूलक, प्रयोगमुखी र क्रियाकलापमा आधारित हुने अपेक्षा गरिएको छ, यसमा दिइएका क्रियाकलापलाई शिक्षकले आधारका रूपमा उपयोग गरी उत्पादनमूलक क्रियाकलापका माध्यमबाट विद्यार्थीको ज्ञान, सीप र धारणको विकास गराई सिकेका विषयवस्तुलाई प्रायोगिक बनाउन सक्ने छ,’ निर्देशिकामा भनिएको छ।
यस्तै, विकास केन्द्रले कक्षामा सबै प्रकारका क्षमता भएका विद्यार्थीको सिकाइ उपलब्धिलाई वैयक्तिक रूपमै आकलन गर्न सहज होस् भन्ने ध्येय यस निर्देशिकाको रहेको जनाएको छ।
‘सिकाइ र विद्यार्थीको जीवन्त अनुभवबीच तादात्म्य कायम गर्दै यसको सहज प्रयोग गर्न शिक्षकले सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र खोजकर्ताका रूपमा भूमिकाको अपेक्षा यस निर्देशिकाले गरेको छ,’ निर्देशिकामा भनिएको छ, ‘यस निर्देशिकालाई अझ परिष्कृत पार्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी एव सम्पूर्ण पाठकहरूको समेत विशेष भूमिका रहने हुँदा सम्बद्ध सबैको रचनात्मक सुझावका लागि पाठ्यक्रम विकास केन्द्र हार्दिक अनुरोध गर्दछ।’
१९ वटा एकाइ, यस्तो छ पढाउनुपर्ने समय
विकास केन्द्रका अनुसार पाठ्यक्रममा उल्लेखित अनुमानित घण्टाबमोजिम १६० घण्टा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनका लागि अनुमानित घण्टा, सिकाइ उपलब्धि पूरा गर्नका लागि आवश्यक पर्ने सामग्री, उक्त सामग्रीको प्रयोगबाट सिकाइ सहजीकरण क्रियाकलाप, मूल्याङ्कनका लागि तरिका र विभिन्न संज्ञानात्मक तहका प्रश्न राखेर यो शिक्षक निर्देशिका तयार गरिएको छ।
पढाउने समयअवधिको हकमा एकाइ १ वैज्ञानिक अध्ययनको लागि अनुमानित कार्यघण्टा ७ घण्टा राखिएको छ। एकाइ २ को सजीवको वर्गीकरणमा अनुमानित कार्यघण्टा ६ राखिएको छ।
एकाइ ३ च्याउमा पढाउने समय पाँच घण्टा राखिएको छ। यस्तै, एकाइ ४ मा क्रम विकासको अनुमानित कार्यघण्टा ६ रहेको राखिएको छ। एकाइ ५ को शारीरिक संरचना र जीवन प्रक्रिया अध्यापनमा धेरै समय राखिएको छ। यसमा १६ घण्टा राखिएको छ।
एकाइ ६ को प्रकृति र वातावरण पढाउनको लागि ६ घण्टा, एकाइ ७ को बल र चाल पढाउनको लागि ११ घण्टा, एकाइ ८ को सरल यन्त्र पढाउनको लागि ५ घण्टा समय तोकिएको निर्देशिकामा उल्लेख छ।
निर्देशिकाअनुसार एकाइ ९ को ऊर्जाको पढाउनको लागि समय ८, एकाइ १० को तरङ्गको लागि १६, एकाइ ११ को विद्युतकाे पढाउन १२ घण्टा समयअवधि तोकिएको छ। एकाइ १२ को ब्रह्माण्डको अनुमानित कार्यघण्टा ५ तोकिएको छ।
एकाइ १३ को सूचना तथा सञ्चार प्रविधिको लागि समय १४ घण्टा, एकाइ १४ को परमाणु संरचना र रासायनिक बन्डमा १३ घण्टा, एकाइ १५ को रासायनिक प्रतिक्रियाको लागि ६ घण्टा,एकाइ १६ को ग्याँस पढाउन ६ घण्टा तोकिएको छ।
एकाइ १७ को धातु र अधातुमा ५ घण्टा,एकाइ १८ को कार्बन र यसका यौगिकहरूमा ६ घण्टा र एकाइ १९ को कृषि क्षेत्रमा प्रयोग हुने पदार्थहरू पढाउन ७ घण्टा समय तोकिएको छ।
प्रत्येक दिन विद्यार्थीको सीप प्रदर्शनको लेखाजोखा राख्नुपर्ने
शिक्षकहरूले प्रत्येक दिन विद्यार्थीहरूको सीप प्रदर्शनबारे लेखाजोखा राख्नुपर्ने पनि व्यवस्था रहेको छ।
‘प्रत्येक दिन सिकाइ सहजीकरणका क्रममा विद्यार्थी क्रियाकलापको अवलोकन गर्दै विद्यार्थीलाई दिइएको जिम्मेवारीअनुसार निर्धारित क्रियाकलापमा विद्यार्थीले अवलोकन गर्ने, प्रयोग तथा परीक्षण गर्ने, शोधखोज गर्ने जस्ता सीप प्रदर्शन गरे नगरेको हेरेर लेखाजोखा गर्नुहोस्,’ निर्देशिकमा भनिएको छ।
विद्यार्थीको कार्यका आधारमा सिकाइका लागि मूल्यांकन तथा आन्तरिक मूल्यांकन प्रयोजनसमेतका लागि प्रत्येक विद्यार्थीको प्रगतिको अभिलेख राख्नुपर्ने छ। यस्तै, विद्यार्थीको आन्तरिक मूल्यांकनका लागि प्रयोगात्मक र परियोजना कार्यसँग सम्बन्धित क्रियाकलाप गरिरहेको समयमा अवलोकन गर्नुपर्ने छ।
क्रियाकलाप गर्दा सिकाइमा कठिनाइ देखिएका बालबालिकाका लागि थप सहयोग गर्दै सिकाइको प्रगतिको अभिलेख राख्दै लेखाजोखा गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ।
निर्देशिकामा शारीरिक कमजोरी वा विशेष क्षमता भएका विद्यार्थीका लागि न्यूनतम सिकाइ सुनिश्चित गर्न उपयुक्त मूल्यांकनका साधन विकास गरी सिकाइको लेखाजोखा गर्नुपर्ने भनिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























