काठमाडौं : पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समाजवादीमा) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका हुन्। उनले जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे।

राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभइ गल्ती भएको उनको जिकिर छ। नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे। उनले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने बताए।

‘हामी नेपालको सबै कम्युनिष्टहरू एकता गर्न चाहन्छौं, त्यो भनेको एमालेलाई छोडेर होइन। म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जानसक्छु। म माओवादी केन्द्रमा जान सक्दिन्। किनभने जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए। राजनीतिक व्यक्तिहरूको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन्। कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन्’, उनले भने, ‘ संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौँ। नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन। उमेर हद भनेको यो संविधानको धारा २४ को विरुद्धमा छ। त्यो व्यवस्था उँच, निच, छुवाछुत, जाति पाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ। उमेर हद नेपालको संविधान विरोधी छ, त्यो हट्नैपर्छ।’

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरूमा पूँजीवाद भन्दा अरु केही नरहेको जिकिर गरे। पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरै कुरा शंकाको घेरामा आएको निष्कर्ष निकालेको उनले बताए।