फाइल तस्बिर

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमणअगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसदमा टेबुल हुने बताएका छन्।

विधेयकमा आफूहरूको मुद्दा सम्बोधन गरी छिटो ल्याउन ध्यानाकर्षण गर्न आज (मंगलबार) सिंहदरबारस्थित कार्यकक्षमा पुगेको नेपाल शिक्षक महासङ्घको टोलीलाई उनले उक्त जानकारी गराएको महासंघका अध्यक्ष कमला तुलाधरको नेतृत्वको टोलीमा सहभागी नेपाल विद्यालय परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए।

उक्त विधेयक एक महिनाअघि मन्त्रिपरिषदबाट पारित भए पनि सरोकारवाला पक्षको विरोधका कारण मन्त्रिपरिषदमै पुनः विचारको स्थितिमा छ। विधेयकमा समेटिनुपर्ने सरोकारवालाका विषयलाई सम्बोधन गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको छ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता संयुक्त राज्य अमेरिका जाँदै छन्।