काठमाडौँ : सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फर्स्योट, विद्यमान ऐन नियममा सुधार र प्रतिबद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन्।

मंगलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिएका हुन्।

सभापति पोखरेलले समितिको अर्को बैठकमा प्रस्तुत गर्ने गरी बेरुजु फर्स्योट, विद्यमान ऐन नियममा सुधार र प्रतिबद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिए। उनले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा बनाउन आग्रह गरे।

उनले उपसमितिमा पूर्वमन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरू र पेशा व्यवसाय मिल्ने सांसदहरूलाई नराख्न आग्रह गरे। उनले समितिका २७ जना सांसदले काममा गति दिनसके मात्रै समितिको काम प्रभावकारी हुनसक्ने बताए।

उनले समितिले गर्ने निर्णयहरूमा सर्वसहमति गर्ने प्रयास गर्ने बताए। उनले समितिले तत्काल बेरुजु, महालेखा र लेखा उत्तरदायीहरूको बीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरू र सचिवालयको क्षमता बढाउन आवश्यक रहेको बताए।

उनले भने, ‘समितिका २७ जना सांसदले गति दिनसक्यौं भने समितिको काम प्रभावकारी हुन्छ। समितिले गर्ने निर्णयमा सर्वसहमति गर्ने प्रयास गरौं। बेरुजुबारे उपसमिति बनाएर महालेखाको प्रतिवेदनका बारेमा अध्ययन गर्न, लेखा समितिका सदस्य र सचिवालयको अध्ययन र क्षमता बढाउन आवश्यक छ।’

उनले समितिले तत्काल बेरुजु लगायतका विषयमा उपसमितिहरू बनाएर काम अगाडि बढाउने बताए। उनले समितिमा पर्ने उजुरीहरूको समितिमा छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरूले अध्ययन गर्न आवश्यक रहेको बताए।