म्याग्दी : पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र एवम् मालिका गाउँपालिकाको मुकाम दरबाङ बजारमा दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ।

गण्डकी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुनले ५ शय्याको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्दै अस्पतालको क्षमता विकासका साथै विशेषज्ञ चिकित्सकसहितको सेवा आवश्यक रहेको बताइन्।

पश्चिम म्याग्दीको पायक पर्ने ठाउँमा संचालन गरिएको यो अस्पताल यस क्षेत्रका जनताका लागि भरपर्दो र सुविधायुक्त बनाउन स्थानीय सरकार र प्रदेश सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो।

मालिका गाउँपालिकाले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ शय्या क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेपछि सोमबार उद्घाटन गरिएको हो।

आधारभूत अस्पताल सञ्चालन गर्न निक साइमन इन्टिच्युटले एक जना चिकित्सक, एक जना रेडियोग्राफर र एक जना स्टाफ नर्सको जनशक्ति सहयोग गरेको छ।

एक जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका थप एक जना चिकित्सक आउने मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए।

आधारभूत अस्पतालका लागि गाउँपालिकाले थप २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष गर्बुजाले बताए। हाल प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ।

भवन बनाइएकाले शव परीक्षणको काम पनि दरबाङमै गर्ने तयारी भएको छ। अहिले शव परीक्षण गर्न बेनी ल्याउनुपर्छ।

मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने यो अस्पतालमा एक सय एमए क्षमताको सादा एक्स–रे मेसिन पनि केही दिनअघिमात्र संचालनमा आएको छ। केन्द्रका निमित्त प्रमुख यमन नेपालीले बिग्रिएको एक्स–रे मेसिन मर्मत गरेर गत बुधबार सञ्चालन गरिएको जानकारी दिए।

‘आर्थिक स्रोतको अभावका कारण एक्स–रे मेसिन सञ्चालन हुन सकेको थिएन,’ उनले भने‚ ‘धेरै प्रयास गरेर बायोमेडिकल इञ्जिनियर बोलाएर मेसिन मर्मत गरी एक वर्षपछि गत बुधबार उक्त मेसिन संचालनमा आएको हो।’

पुरानो एक्स–रे मेसिनको तयारी भइरहेको समयमा गत पुसमा अन्तरराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले केन्द्रलाई ५ सय एमए क्षमताको एक्स–रे मेसिन उपलब्ध गराएको थियो। केन्द्रमा जडान भएको विद्युतको क्षमता कम भएकाले नयाँ एक्स–रे मेसिन सञ्चालन हुन सकेको छैन।

नयाँ एक्स–रे मेसिन सञ्चालन गर्न धेरै समय लाग्ने भएपछि पुरानैलाई मर्मत गरेर सेवा सञ्चालन गरेको नेपालीले बताए। सो क्षेत्रका बासिन्दालाई एक्स–रे सेवाका लागि सदरमुकाम बेनी पुग्नुपर्ने समस्या हटेको छ। चिकित्सकलाई एक्स–रेको रिपोर्टका आधारमा बिरामीको समस्या पहिचान गर्न सहज भएको छ।