काठमाडौँ : अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुने क्रममा नेपाली खेलाडीमा डोपिङलगायत अन्य व्यवहारिक पक्षमा पूर्ण जानकारी नहुँदा समस्या हुने गरेको छ।

यस्ता गल्ती र कमजोरीले नेपालले जरिवाना पनि तिर्नुपरेका घटनाहरू छन्। तर, यसपटक भने नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि डोपिङलगायत अन्य व्यवहारिक पक्षमा खेलाडीलाई शिक्षा प्रदान गरिरहेको छ।

प्रतिबन्धित औषधि खेलाडीले अज्ञानपूर्वक प्रयोग गरेमा पनि त्यसलाई डोपिङ मानिन्छ। जसको कारण खेलाडीको करियर नै समाप्त हुनसक्छ। त्यसैले खेलाडीलाई डोपिङसम्बधी पूर्ण ज्ञान आवश्यक हुन्छ।

चीनको हाङझाव शहरमामा आगामी सेप्टेम्बर २३ देखि १९औँ एशियाली खेलकुद हुँदै छ। सोही प्रतियोगिता अगाडि राखेपले खेलाडीलाई प्राविधिक प्रशिक्षणसँगै अन्य विभिन्न पक्षमा शिक्षित गराइरहेको छ।

उक्त एशियाली खेलकुदमा नेपालका २९ खेलका २३४ खेलाडीले प्रतिष्पर्धा गर्दैछन्। सोही खेलकुदलाई लक्षित गरेर राखेपले उनीहरूको प्रदर्शन आत्मबल मिल्ने किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ। यसअघि डोपिङ शिक्षा प्रदान गरेको राखेपले आज शनिबार डाइनिङसम्बन्धी कक्षा सञ्चालन गरेको छ।

आजको प्रशिक्षणमा एशियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको थियो। प्रशिक्षण कक्षालाई चार चरणमा सञ्चालन गरिएको थियो। राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको १९औँ एशियाली तयारी समितिले प्रशिक्षण दिइरहेको छ।

राखेपले अब तेस्रो चरणमा खेलाडीहरूको मोटिभेसन कार्यक्रम पनि सञ्चालन गर्दैछ। राखेपले १९औँ एसियाडमा खेलाडीहरूको प्रदर्शनमा उच्च आत्मबल बढ्ने अन्य कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ।