अहिले विदेशी मुद्राको सञ्चिति काफी छ : अर्थमन्त्री
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार आर्थिक गतिविधि चलायमान बनाउन बाधक बनेका समस्या समाधान गर्नतर्फ लागिरहेको बताएका छन्। शनिबार काठमाडौंमा भएको नेपाल आर्थिक पत्रकार समाजको २५ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले देशको आर्थिक अवस्थालाई सुधार गर्न सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उनले अहिले नेपालमा पर्यटकको चाप बढिरहेको र विदेशी मुद्राको सञ्चिति पनि पर्याप्त रहेको बताए।
उनले आर्थिक अवस्थालाई चलायमान बनाउन बाधक कुराको समाधान गर्न सरकार लागिरहेको बताए। गत वर्षको तुलनामा राजस्व पनि वृद्धि भइरहेको बताए।
उनले भने, ‘राज्य संयन्त्रसहित जस जसले जुन जुन ठाउँबाट सहयोग गर्नुपर्ने हो त्यहाँबाट सहयोग अपेक्षा गर्नुभएको छ। स्वभाविक हो, सहजीकरण हुन्छ। अहिले पर्यटकको फ्लो बढिरहेको छ। हाम्रो विदेशी मुद्राको सञ्चिति काफी छ। अरू आर्थिक गतिविधि अघि बढाउनको लागि जुनखाले लिमिटेशन वा समस्याहरु छन्, ती समस्यालाई समाधान गर्नेतर्फ हामी लागिरहेका छौँ। आगामी दिनमा अर्थतन्त्र पोजिटिभ स्थितिमा जान्छ। राजस्व पनि पोहोर सालको तुलनामा प्रगतिमा छौँ। आउने दिनमा झनै प्रगति हुने विश्वास छ।’
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले लिने सुझावलाई बेवास्ता गर्दा र कार्यान्वयन नगर्दा देशको अर्थतन्त्र अहिलेको अवस्थामा आएको बताए।
उनले अर्थतन्त्रबारे नकारात्मक टिप्पणी मात्रै गरेर पनि लगानी कर्ताहरुको मनोबल खस्किएको बताए। उनले सरकारी निकायबीच समन्वयको कमी हुँदा पनि अर्थतन्त्रमा धेरै असर परिरहेको बताए।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्र अहिले खस्किएकै अवस्थामा रहेको दाबी गरे। उनले अर्थतन्त्रलाई सही ट्रयाकमा लैजान नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण लगायतका रेगुलेटरले गरेका निर्णयहरुलाई सरकारले सच्याउनुपर्ने बताए।
उनले आमजनता र लगानी कर्तामा आत्मविश्वासको कमी हुँदै गएको बताए। उनले सरकारले निजी क्षेत्रको आत्मबल बढाउने गरी काम गर्नुपर्ने बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















