दाङ : संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौं सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकफ छन्।

नेकपा माओवादी केन्द्रले शनिबारदेखि सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान उद्घाटनका अवसरमा दाङको घोराही १७ बर्गदीस्थित सहिद स्मृतिपार्कमा आयोजित कार्यक्रममा बोल्दै उनले अब सहिद सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताइन्।

उनले सहिदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको भन्दै अब सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्ने बताइन्।

उनले भनिन्, ‘इतिहासमा पहिलोपटक सरकार जनतासित जोडिएको छ। सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको छ। वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकता राखिएको छ।’

माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेकी उनले पार्टी जनतामा फर्कने अभियान सुरु भएको समेत बताइन्। उनले शान्ति प्रक्रियापछि पार्टी पटक-पटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको भन्दै अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बिचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पुर्याउन यो अभियान सुरु गरिएको समेत उल्लेख गरिन्।

उनले सबै नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आग्रह गर्दै राजनीतिलाई सेवाको रूपमा लिनुपर्ने बताइन्। उनले भनिन्, ‘ राजनीतिलाई व्यक्तिगत लाभमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने छ। अनियमितता र भ्रष्टाचार गर्नेहरू आफ्नै भए पनि नछाड्ने सरकारको प्रतिबद्धता रहेको छ।’

बर्गदीमा २०५८ मङ्सिर १३ गते धान दाइरहेका किसानमाथि तत्कालीन सेनाले गोली चलाउँदा ११ जनाको ज्यान गएको थियो। सहिदको सालिकमा माल्यार्पण गरी मन्त्री शर्माले अभियान उद्घाटन गरेकी थिइन्।