नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुन्छ : प्रवक्ता सापकोटा
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्सा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताएका छन्।
शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले चीनले जारी गरेको नक्सामा नेपालको भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटेको भन्दै त्यसबारे प्रधानमन्त्रीले आगामी चीन भ्रमणमा कुराकानी गर्ने बताएका हुन्।
उनले नेपाली भूमि नेपालको नक्सामा नदेखाइएको यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताए। उनले चीनको यस कदमबारे स्पष्ट हुनका लागि कूटनीतिक पहलकदमी बढाउनुपर्ने पनि बताए।
उनले भने, ‘चीनले जारी गरेको नक्सामा किन त्यस्तो भयो ? यसबारे कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ। मुख्यतः हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ। त्यस वेला कुराकानी हुन्छ। यसबारे प्रष्ट हुनुपर्छ। सरकार प्रष्ट हुँदै जनतालाई पनि प्रष्ट गर्नुपर्छ र यो विषय त्यसरी पहलकदमी अघि बढाउनुपर्छ भन्ने लाग्छ।’
प्रवक्ता सापकोटाले एमसीसी परियोजना कार्यान्वयनका लागि संसद्बाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसीको अंग बनाउनुपर्ने बताए। उनले औपचारिक र संस्थागत रूपमा १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंग बनाएमा मात्र कार्यान्वयनमा सहज हुने स्पष्ट पारे।
माओवादी केन्द्र एमसीसी परियोजना व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाएर मात्रै अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे।
उनले वर्तमान सत्तारुढ गठबन्धनमा तत्कालै कुनै समस्या नआउने बताए। उनले सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रबीच पनि कुनै खटपट नपरेको बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















